
काठमाडौँ — २२ भाद्र २०७८
काठमाडौँ, ओमान भ्रमणमा रहेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघि मंगलबार पपुवा न्युगिनी (पीएनजी) सँग खेलिरहेको छ । मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेपछि बलिङको निम्तो पाएको नेपालले नवौँ सफलता हात पारेको छ । सोमपाल कामीको बलिङमा नेपालले आठौँ र नवौँ विकेट लिएको हो । उनले गौडी टोकालाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराएका हुन् । त्यस्तै डेभियन राभु रनआउट भएका हुन् । नेपालका लागि सातौँ विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले २३.३ ओभरमा जेसन किलालाई एलबीडब्ल्यू आउट गराएका हुन् । यसअघि उनले सेसे बाउलाई कुशल मल्लको हातबाट क्याचआउट गराएका थिए ।
त्यस्तै उनले ओभरमा पीएनजीका चार्ल्स अमिनीलाई पनि आउट गराएका थिए । नेपालका लागि छैटौं विकेट कुशल मल्लले लिएका हुन् । २२.५ ओभरका उनले पीएनजीका किपलिन डोरिगालाई आउट गराएका हुन् । १५ रन बनाएर खेलिरहेका उनलाई कुशलको बलिङमा कुशल भुर्तेलले क्याचआउट गराएका हुन् । नेपालका कुशल मल्लले आक्रमक ब्याटिङ गरिरहेका पिएनजीका १२.५ ओभरमा लेगा सियाकालाई कट एन्ड बोल्ड गरे ।दोस्रो ओभरको पहिलो बलमा नेपालका तीव्र गतिका बलर विक्रम सोबले पीएनजीका टोनी उरालाई बोल्ड गरेका थिए । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका विक्रमको यो पहिलो अन्तर्राष्ट्रिय विकेट हो ।
यस्तै सोबले खेलको चौथो तथा उनको व्यक्तिगत दोस्रो ओभरको अन्तिम बलमा पीएनजीका कप्तान असद भालालाई व्यक्तिगत ४ रनमा स्लिपमा आरिफ शेखको हातबाट क्याचआउट गराएका थिए । ओमान र अमेरिकासँग हुने आईसीसी विश्वकप लिग २ का खेलअगाडि नेपालले तयारीका क्रममा पीएनजीसँग खेलिरहेको हो । नेपालका सफल कप्तान र खेलाडी रहेका पारस खड्काले गत महिना अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएयता नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेटको सामना गर्न लागेको हो ।
( कान्तिपुर दैनिक )
