Fast Nepal News

नेपाल–पीएनजी भिड्दै : पारस युगपछिको पहिलो खेल

banner single news

काठमाडौँ — २२ भाद्र २०७८

काठमाडौँ , पारस खड्काको युगपछि नेपाल पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेटमा उत्रँदै छ । ओमान भ्रमणमा रहेको नेपालले मंगलबार र शुक्रबार गरी पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ । ओमान र अमेरिकासँग हुने आईसीसी विश्वकप लिग २ का खेलअगाडि नेपालले तयारीक्रममा पीएनजीसँग खेल्न लागेको हो । नेपालका सफल कप्तान र खेलाडी रहेका पारसले गत महिना अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएयता नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेटको सामना गर्दै छ । आफ्नो १९ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई पूर्णविराम लगाएका पारसको नेतृत्वमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रियसम्मको यात्रा तय गरेको थियो । साथै सन् २०१४ मा बंगलादेशमा ट्वान्टी–२० विश्वकप पनि खेलेको थियो । संयोग के थियो भने पारसकै कप्तानीमा नेपाल सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरी एकदिवसीय राष्ट्र बनेको थियो । त्यसविपरीत त्यो हारपछि पपुवा न्युगिनीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाएको हो । पछि अर्को बाटोबाट पपुवा एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो ।

नेपालले विश्वकप छनोटमा प्रतिस्पर्धा गरेको स्थितिभन्दा पपुवा न्युगिनीको प्रदर्शनमा खासै सुधार भएको छैन । दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिएपछि नेपालले हरारेमा पपुवालाई २८ ओभरभित्र १ सय १४ रनमा अलआउट गरेको थियो । दीपेन्द्रकै अविजित ५० रनमा नेपालले २३ ओभरमा लक्ष्य पूरा गरेको थियो । लिग २ मा पपुवा न्युगिनीले सबै ८ खेल हारेको छ । टोली पुछारमा छ । ४ खेलमात्र खेलेको नेपालले २ जित र २ हारसहित पपुवाभन्दा एक स्थानमात्र माथि सातौंमा छ । पपुवा न्युगिनीले नेपाल र अमेरिकासँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ । पपुवा सोमबारमात्र अमेरिकासँग ७ विकेटले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले १ सय ५८ रनमात्र बनाउन सकेको थियो र त्यो लक्ष्य अमेरिकाले २९ ओभरमा पूरा गरेको थियो । पपुवा न्युगिनी पहिलोपल्ट ट्वान्टी–२० विश्वकप खेलिरहेको छ । अर्को महिना यूएईमा हुने विश्व ट्वान्टी–२० को तयारीलाई टोली अहिले ओमानमा छ । ट्वान्टी–२० विश्वकप अगाडि पपुवाले ओमानमै घरेलु टोली र स्कटल्यान्डसँग लिग २ का खेल खेल्नेछ ।

‘डेब्युको लर्को’

Inside Article Ads

वैशाखमा काठमाडौंमा सम्पन्न त्रिदेशीय ट्वान्टी–२० प्रतियोगिताले कुशल भुर्तेल र आसिफ शेखलाई स्थापित गरेको थियो । जबकि उनीहरूले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न बाँकी नै छ । पपुवा न्युगिनीसँगको खेलबाट यी दुईले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने निश्चितजस्तै छ । नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिदेशीय ट्वान्टी–२० मा ओपनिङ ब्याटिङ जोडी कुशलले ५ खेलमा २ सय ७८ र आसिफले १ सय ५४ रन बनाएका थिए । यी दुईको उदय र पारसको संन्यासपछि कप्तान ज्ञानेन्द्र मल्ल पुनः तेस्रो नम्बरको ब्याटिङमा फर्किने निश्चित छ । चौथो नम्बरमा आरिफ शेख र शरद भेषावकरमध्ये एकले खेल्न सक्छन् । पाँचौंदेखि सातौं नम्बरमा क्रमशः दीपेन्द्र, कुशल मल्ल र विनोद भण्डारीले खेल्ने तय भए पनि दीपेन्द्रले चोट बोकेको बताइएको छ ।

बाँकी चार स्थान बलरको हुनेछ । त्यसमा एक्लो स्पिनरको रूपमा सन्दीप लामिछाने हुनेछन् भने तीन तीव्र गतिका बलर हुनेछन् । जसमा सोमपाल कामी, करण केसी र गुलशन झा दाबेदारका रूपमा छन् । गुलशनले अझै अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । त्यस अर्थमा उनी एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने लाइनमा छन् । टोलीका अर्का तीव्र गतिका बलर विक्रम सोब बहुप्रतीक्षित डेब्युको आशामा छन् । लिग २ को तयारीका खेल भएकाले नेपालले सबैलाई मौका दिने सम्भावना पनि छ । नेपालले यसअघि खेलेका सबै १० एकदिवसीय अन्तर्राष्ट्रियमा पारसले खेल्दै आएका थिए । पारसबिना नेपालले पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । अघिल्लो साता ओमान पुगेसँगै डेव ह्वाटमोरले नेपालको प्रशिक्षकको रूपमा यो आफ्नो अन्तिम भ्रमण हुने बताएका थिए । ह्वाटमोरकै प्रशिक्षणमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट खेल्न लागेको हो ।

( कान्तिपुर दैनिक )

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.