
काठमाडौँ — २० भाद्र २०७८
काठमाडौँ , कुजु नेपालले राष्ट्रिय फुटसल लिग खेल्ने शंखमूल फुटसल टोलीलाई लिगका लागि प्रायोजन गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्ने लिग असोजमा पोखरा रंगशालास्थित कभर्डहलमा हुनेछ । एन्फाले यसअघि जिल्ला हुँदै प्रदेशबाट राष्ट्रिय लिग खेल्न अन्तिम १० टोली छनोट गरिसकेको छ । सोही लिगका लागि शंखमूल फुटबल टोलीलाई कुजु नेपालले मुख्य प्रायोजकको रूपमा सम्झौता गरेको हो ।
कुजु नेपालका निर्देशक उमित श्रेष्ठ र शंखमूल फुटसलका निर्देशक नरेश अवालेले सम्झौतापत्रमा हस्ताक्षर गरे । कुजु नेपालका उमित श्रेष्ठले शंखमूलसँग जोडिन पाउँदा खुसी लागेको र फुटसललाई आफ्नो तर्फबाट सहयोग रहिरहने बताए । सम्झौताअनुसार कुजु नेपालले शंखमूललाई २ लाख नगद र जर्सीलगायत आवश्यक सामान उपलब्ध गराउने छ । शंखमूल फुटबल दुई पटकको राष्ट्रिय च्याम्पियन हो । क्लबले मुख्य प्रशिक्षकको जिम्मेवारी प्रकाश परियारलाई दिएको छ ।१० टोली सहभागी हुने लिग असोज २–२२ सम्म पोखरामा हुँदै छ । विजेताले १० लाख रुपैयाँ जित्नेछ ।
( कान्तिपुर दैनिक )
