Fast Nepal News

पारा ओलम्पिक : म्याकफेडनलाई १८ औं पदक

banner single news

टोकियो — १३ भाद्र २०७८

टोकियो, ह्वीलचियर रेसिङकी अमेरिकी महान् खेलाडी तात्याना म्याकफेडनले शनिबार १८ औं पारा ओलम्पिक पदक जितेकी छन् । फेन्सिङकी विश्वविख्यात इटलियन खेलाडी बेट्रिस (बेबे) भियोले स्वर्ण रक्षा गरेकी छन् । प्रतियोगिताको चौथो दिन शनिबार कुल ५४ स्वर्ण पदकको छिनोफानो भयो । त्यसमध्ये ओलम्पिक रंगशालामा एथलेटिक्सको मात्र १७ स्पर्धाको फाइनल भएको थियो ।म्याकफेडनले टी ५४ अन्तर्गत ५ हजार मिटर ह्वीलचियर रेसिङमा कांस्य पदक जितिन् । सन् २००८ यता हरेक ओलम्पिकमा उनले पदक विजेता भएर पोडियममा उभिने सौभाग्य पाइरहेकी छन् । उनले टोकियोमा प्रतिस्पर्धा गर्न सक्नु नै आफ्ना लागि सबैभन्दा ठूलो जित भएको प्रतिक्रिया दिएकी छन् । सन् २०१७ मा हाइपरकोगुलेबल स्टेट्स (रगतको जम्ने विकारसम्बन्धी रोग) पत्ता लागेपछि निको हुन दुई वर्ष लागेको थियो ।

‘मेरो खुसीको सीमा छैन,’ ३२ वर्षीया म्याकफेडनले भनिन् । जो रुसमा जन्मिएकी थिइन् र ६ वर्षको उमेरमा अमेरिकी आमाबाबुले धर्मपुत्रीका रूपमा स्वीकार गर्नुअघिसम्म अनाथलयमा बसेकी थिइन् । थपिन्, ‘म विल्कुलै एक अँध्यारो ठाउँमा पुगिसकेकी थिएँ किनभने मलाई सन्चो हुन २० महिना लागेको थियो र त्यो २० महिनामा धेरैले आफूलाई तयार गरिसकेका थिए ।’ उनले आफ्नै टिमकी सुजाना स्कारोनीले स्वर्ण जित्दा आफूले कांस्य जित्न सकेकामा आश्चर्यजनक भाव प्रकट गरेकी थिइन् ।नेदरल्यान्ड्सकी लेउर जोङले महिला टी ६४ लङजम्पमा स्वर्ण जितेकी छन् । ६.१६ मिटर जम्प गरी उनले साबिक विजेता फ्रान्सेली मारी एमिली ली फुरलाई हराइन् । तीनपल्टकी पारा ओलम्पिक स्वर्ण विजेता ली फुरले प्रतियोगितापछि संन्यास घोषणा गरेकी छन् । ‘टोकियोमा मैले आफ्नो करिअर अन्त्य गर्ने समय आएको ठानेको छु,’ ३२ वर्षीया ली फुरले भनिन्, ‘मलाई मेरो यो प्रदर्शन र यी असाधारण प्रतिस्पर्धीहरूप्रति गर्व छ । कुनै पछुतो छैन ।’

Inside Article Ads

ट्र्याकबाट टाढा इटालीकी भियोले ह्विलचियर फेन्सिङतर्फ व्यक्तिगत फोइलमा स्वर्ण रक्षा गरी प्रतियोगिताको सुरुआत गरेकी छन् । उनी विश्वकै चर्चित पारा खेलाडीमध्येकी एक हुन् । ११ वर्षको उमेरमै मेनेन्जाइटिसका कारण दुवै खुट्टा र दुवै हातको कुहिनासम्मको भाग गुमाएकी भियो प्रारम्भिक चरण र क्वाटरफाइनलका सबै खेल जितेर सेमिफाइनल पुगेकी थिइन् । त्यसपछि स्वर्ण जित्न उनलाई कठिन भएन ।स्पेनमा एक चिकित्सकको रूपमा कोरोना महामारीविरुद्धको कठिन लडाइँ लडेकी सुसाना रोड्रिग्वेजले पीटीभीआई ट्रायथलनमा स्वर्ण पदक जितिन् । बिरामीलाई गम्भीर रोगमुक्त बनाउन सहयोग गर्ने जिम्मेवारीबाट बचेको समयमा अभ्यास गर्ने सुसानाले आइतबार ओलम्पिक रंगशालामा १५ सय मिटर दौडमा पनि प्रतिस्पर्धा गर्नेछिन् ।   

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.