
काठमाडौँ — ११ भाद्र २०७८
काठमाडौँ, चितवन टाइगर्सले श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्न र मलेसियाका वीरनदीप सिंहलाई बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि अनुबन्धित गरेको छ । असोज ९ देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने ईपीएलका लागि चितवनले क्रमशः तेस्रो र चौथो विदेशी खेलाडीलाई भित्र्याएको हो । गत वर्ष प्लेअफमा पुगेको चितवनले यसअघि पाकिस्तानी अन्तर्राष्ट्रिय खेलाडी डानिस अजिज र अफगानिस्तानका मोहम्मद साहजादलाई अनुबन्धित गरिसकेको छ । सेकुगेसँग बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग, इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी–२० ब्लास्ट खेलेको अनुभव छ ।
‘सेकुगे प्रचुर क्षमताका खेलाडी हुन्, उनको ब्याटिङ र बलिङ दुवैले खेलको नक्सा परिवर्तन गर्न सक्छ । उनी म्याचविनर खेलाडी हुन् । उनको अनुभवले चितवनलाई उपाधिका लागि बलियो प्रत्याशी बनाउने छ,’ चितवनका मालिक किशोर भट्टराईले भने ।लेग स्पिनर सेकुगेसँग श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ ।
ट्वान्टी–२० का मान्यताप्राप्त सबै गरेर १ सय ७० खेलमा उनले १ सय ३५ विकेट लिँदा प्रतिओभर ७ रनको हिसाबमा मात्र रन खर्चेका छन् । उनी राम्रो गुगली फाल्न माहिर छन् ।सेकुगेले सन् २०१६ मा आयरल्यान्डविरुद्ध ४६ बलमा ९५ रन बनाएर उनी सनथ जयसूर्याले श्रीलंकाको नाममा राखेको फास्टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय शतक नजिक पुगेका थिए । उनले २३ बलमा बनाएको अर्धशतक श्रीलंकाको एकदिवसीय अन्तर्राष्ट्रियमा पाँचौं फास्टेस्ट अर्धशतक पनि हो ।
‘मलेसिया क्रिकेटका लागि गर्विलो क्षण’
वीरनदीप अर्को देशमा गएर फ्रेन्चाइज लिग खेल्ने मलेसियाका पहिलो खेलाडी बन्नेछन् । मध्यपंक्तिका यी ब्याट्सम्यानले विकेटकिपिङ गर्नुका साथै आवश्यकताअनुरुप देव्रेहाते बलिङ गर्छन् । उमेर समूहदेखि प्रभावशाली प्रदर्शन गर्दै आएका २२ वर्षे उनलाई एसोसिएट क्रिकेटको भविष्यका रूपमा हेरिन्छ । हाल मलेसियाका उपकप्तान उनी नेपाली समर्थकमाझ परिचित नाम हुन् । वैशाखमा भएको त्रिदेशीय ट्वान्टी–२० शृंखलामा उनले नेदरल्यान्ड्सविरुद्ध ५३ बलमा ८७ रन बनाएका थिए ।
‘मलेसिया क्रिकेटका लागि यो गर्वको क्षण हो । हाम्रो टोलीका शीर्ष प्रदर्शन गर्दै आएका खेलाडी अनुबन्धित भएको खबरले हामी साँच्चै खुसी छौं । वीरनदीपलाई ईपीएल आफ्नो प्रतिभा देखाउने ठूलो अवसर हुनेछ,’ मलेसिया क्रिकेट संघले विज्ञप्तिमा भनेको छ । चितवनकी अप्रेसन डाइरेक्टर विनिता चौधरीले वीरनदीप एसोसिएट देशकै सदस्य भएकाले मलेसिया र नेपाल सँगै अगाडि बढ्नु र एकअर्काको प्रतिभालाई ठाउँ दिनु आफूहरूको जिम्मेवारी हुने बताइन् ।
( कान्तिपुर दैनिक )
