Fast Nepal News

युवा खेलाडीको वर्चस्व

banner single news

काठमाडौँ — ९ भाद्र २०७८

काठमाडौँ , सात नयाँ खेलाडीलाई समावेश गर्दै मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप २०२२ छनोटका लागि २३ सदस्यीय नेपाली टिम मंगलबार घोषणा गरेका छन् ।राष्ट्रिय लिगमा लागेको चोटका कारण ‘गोल मेसिन’ सावित्रा भण्डारीले सात वर्षयता पहिलोपल्ट राष्ट्रिय टिमको खेल गुमाउँदै छन् । उनी घुँडाको शल्यक्रियापछि कतारमै ‘रिह्याबिलिटेसन’ गरिरहेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कप्तान नीरु थापा र डिफेन्डर मनमाया लिम्बूले संन्यास लिएका थिए । नेपाली सेनाकी डिफेन्डर कविता धिमाल मिसनमा खटिएकी छन् । १३ औं सागका अरू १६ खेलाडीले प्रशिक्षक फिलिप्सको टिममा पनि निरन्तरता पाएका छन् ।डिफेन्डर निशा थोकर, विमला विक, सिर्जना सिंह, एपीएफकी मिडफिल्डर प्रीति राई, अग्रपंक्तिका रश्मीकुमारी घिसिङ, सविता राना र रजनी थोकरले पहिलोपल्ट राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

उनीहरू पछिल्लोपल्ट यू–१९ टिम र लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा पुगेका हुन् । एन्फाका टेक्निकल डाइरेक्टरसमेत रहेका प्रशिक्षक फिलिप्सले २८ जनाबाट अमिशा कार्की, अञ्चली वाइबा, हिमा चौधरी, मनीषा राउत र शर्मिला थापालाई बाहिर राख्दै एसियन कप छनोटका लागि २३ सदस्यीय नेपाली टिम घोषणा गरेका हुन् ।गोलकिपरमा कुनै परिवर्तन भएन । एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथले निरन्तरता पाए । डिफेन्समा निशा, विमला र सिर्जनासँगै अमृता जैशी, गीता राना, हीराकुमारी भुजेल, पूजा राना र पूनम जर्घामगर छन् । सरु लिम्बु, अनिता बस्नेत, विमला चौधरी, दीपा राई, इन्दिरा राई, मन्जलीकुमारी योन्जन, रेनुका नगरकोटे र प्रीति मिडफिल्डमा छन् । सावित्राविहीन फरवार्डलाइनमा अनिता केसी, रजनी, रश्मी र सविता छनोट भएका छन् ।

पोखरा रंगशालामा १३ औं सागमा स्वर्णको प्रतिस्पर्धामा भारतसँग २–० ले हारेको (डिसेम्बर २०१९) नेपाली महिला टिम मैदानमा ओर्लिएको छैन । नेपाल एसियन कप छनोटमा हङकङ र फिलिपिन्ससँगै समूह ‘एफ’ मा रहेको छ । आयोजना गर्ने अवसर पाएर पनि कोभिड–१९ का कारण उज्वेकिस्तानको जेएआर रंगशालामा सारिएको छनोटमा नेपालले फिलिपिन्सविरुद्ध सेप्टेम्बर १८ र हङकङविरुद्ध सेप्टेम्बर २१ मा खेल्नेछ । आठ समूहका शीर्ष टिमसहित १२ देशले जनवरी–फेब्रुअरी २०२२ मा भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्नेछन् ।

अभिषेक पनि बाहिरिए
Inside Article Ads

काठमाडौं– साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको पुरुष टिमलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन खेलाडीलाई हटाउँदै २५ सदस्यीय बनाएका छन् । विश्वकप २०२२/एसियन कप २०२३ छनोटको दोस्रो चरणमा टिममा रहेका फरवार्ड अभिषेक रिजाल पनि बाहिरिए । उनीसँगै पोखरामा भइरहेको बन्द प्रशिक्षणबाट गोलकिपर अर्पण कार्की र फरवार्ड शिशिर लेखीलाई प्रशिक्षक अल्मुताइरीले मंगलबार हटाएका हुन् ।अर्पण बाहिरिएपछि गोलकिपरमा चार खेलाडी (किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ र विकेश कुथु) रहेका छन् ।

अन्य खेलाडीमा आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुश घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनीष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी र तेज तामाङ छन् । माल्दिभ्समा अक्टोबर १–१६ मा हुने साफ च्याम्पियनसिप तयारीमा नेपाली टिमले भारतविरुद्ध दुई मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै छ । खेल दशरथ रंगशालामा सेप्टेम्बर २ र ५ मा हुनेछ ।

(कान्तिपुर दैनिक)

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.