Fast Nepal News

मेसीबिनाको जित ‘अँध्यारोमा उफ्रिएजस्तै’

banner single news

म्याड्रिड — १ भाद्र २०७८

म्याड्रिड, लियोनल मेसीबिनाको बार्सिलोनाले नोउ क्याम्पमा रियल सोसिडाडलाई ४–१ ले हराएर ला लिगामा विजयी सुरुआत गरेको छ । यद्यपि समर्थकले जितलाई ‘अँध्यारोमा उफ्रिएजस्तो’ भनेर टिप्पणी गरेका छन् । कप्तान जेरार्ड पिकेले १९ औं मिनेटमा क्लबका लागि ५० औं गोल पूरा गरेपछि बार्सिलोनाले अग्रता लिएको हो । मार्टिन ब्रेथवेटले पहिलो हाफको इन्ज्युरी समय र ५९ औं मिनेटमा गोल गरेका थिए । सर्गी रोबर्टोले खेलको अन्तिम मिनेटमा गोल थपे ।कोरोना महामारीपछि पहिलोपल्ट रंगशालामा प्रवेश अनुमति दिइएकोमा २० हजारभन्दा बढी दर्शक उपस्थित रहे । सोसिडाडले सानदार पुनरागमनसहित २ गोल फर्काएपछि कुनै समय बार्सिलोनाले दबाब महसुस गर्न थालेको थियो । ८२ औं मिनेटमा जुलेन लोवेटेले ३० यार्डबाट प्रहार गरेको फ्रिकिक सानदार गोलमा परिणत हुनु र त्यसको तीन मिनेटपछि कप्तान मिकेल ओयार्जाबालले गोल गरेसँगै सोसिडाडले ३–० को स्थितिबाट खेल ३–२ मा पुर्‍याएको थियो ।

छपल्टका बालोन डी’ओर विजेता मेसी बार्सिलोनामा आफ्नो दुई दशकको करिअर अन्त्य गरी गत साता पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगे । क्लबमा नरहेपछि नोउ क्याम्पको प्रवेशद्वारबाट यी अर्जेन्टिनी सुपरस्टारको विशाल तस्बिर हटाइए पनि आइतबार उनलाई नसम्झने कोही भएनन् । सबैले मेसीलाई नै खोजिरहेका थिए ।खेल सुरु हुनुअघि क्लबका अध्यक्ष जोन लापोर्टामाथि रिस पोख्दै समर्थकले केही ब्यानर प्रदर्शन गरेका थिए । ब्यानरमा लेखिएको थियो, ‘लापोर्टा, बार्सिलोना तिम्रो व्यवसाय होइन ।’ अर्को ब्यानरमा थियो, ‘मेसी एस !, लापोर्टा नो !’ ‘यो एउटा ठूलो भावनात्मक झड्का थियो,’ मेसीको बहिर्गमनबारे २३ वर्षीय समर्थक एडिरा डी लुकासले भने, ‘यो खबर सुन्दा म आफ्नै कोठामा थिएँ । मैले यसबारे सूचना सबै साथीलाई पठाएँ । कसैले पनि विश्वास नै गरेनन् । किनभने भावनात्मक रूपमा यो निकै कठिन क्षण थियो ।’

ती समर्थकले थपे, ‘मेसीबिनाको यो जित अँध्यारोमा उफ्रिएजस्तै हो । भविष्यमा के हुन्छ, हामी हेरिरहन्छौं ।’ १८ महिनापछि रंगशाला प्रवेश पाएका समर्थकले नोउ क्याम्प भित्र एकैस्वरमा ‘मेसी.. मेसी..’ भन्दै आफ्ना आदर्श खेलाडीप्रति आभार व्यक्त गरे । ‘समर्थक हामीसँगै छन् । उनीहरू फुटबल हेर्न चाहन्छन्,’ कप्तान पिकेले भने, ‘हामी सबैलाई थाहा थियो, उनीहरू यसरी प्रतिक्रिया जनाउँछन् । तर सबै कुरा परिवर्तन भएको छ र हामी अगाडि बढ्नुपर्छ । हामी पुनः बलियो हुनेछौं । अन्तिमसम्म उपाधिका लागि भिड्ने छौं । हामीसँग मेसी छैनन् तर हामीले प्रमाणित गरेका छौं, हामी सबै एकसाथ खेल्न सक्छौं ।’

साबिक विजेता एट्लेटिको म्याड्रिडले सेल्टा भिगोमाथि २–१ को जितसहित सिजन सुरु गरेको छ । २३ औं मिनेटमा थोमर लेमरको पासमा एन्जेल कोरिआले एट्लेटिकोलाई अग्रता दिलाए । ५९ औं मिनेटमा इयागो अस्पासले पेनाल्टीमा बराबरी गोल फर्काएको ५ मिनेटपछि नै कोर्रियाले व्यक्तिगत दोस्रो गोल गरी एट्लेटिकोलाई पुनः अग्रता दिलाए ।खेलको अन्त्यतिर लुइस स्वारेजमाथि एक अनावश्यक फाउल भएपछि खेलको माहोल एकाएक तनावग्रस्त बन्यो । फलस्वरुप सेल्टाका ह्युगो मल्लो र एट्लेटिकोका मारियो हर्मोसोले रातो कार्ड पाएका थिए । अर्को खेलमा सेभियाले रायो भालेकानोमाथि ३–० को जित निकाल्यो ।

Inside Article Ads

क्लब आर्थिक संकटमा : लापोर्टा

बार्सिलोना– बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लबको कमजोर आर्थिक स्थितिबारे सोमबार खुलासा गर्दै त्यसै कारणले लियोनल मेसीलाई अनुबन्ध गर्न नसकिएको दाबी गरेका छन् । नोउ क्याम्पमा भएको दुई घण्टा लामो प्रेस सम्मेलनमा उनले भने, ‘क्लबको आर्थिक स्थिति अहिले निकै नाजुक र जटिल छ ।’ लोपार्टाले बार्सिलोनाको ऋण १ अर्ब ३५ करोड युरो रहेको बताए । उनले खेलाडीको तलबमा मात्रै ६१ करोड ७० लाख युरो खर्च गर्नैपर्ने पनि दाबी गरे । उनका अनुसार प्रतिद्वन्द्वी टिमको तुलनामा यो ३० प्रतिशतसम्म बढी खर्च हो । उनले भने, ‘अहिले हामीले स्थितिमा कडिकडाउ गर्न सक्यौं भने हाम्रो आर्थिक स्थिति भविष्यमा मजबुत हुनेछ ।’मेसीलाई गुमाएको प्रकरणबारे उनले भने, ‘खेलाडी र क्लब दुवै पक्षले ठूलो विश्वासले कुराकानी गरेको, तर प्रतिफल भने निकाल्न सकिएन ।’ पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार लियोनल मेसीलाई आफ्ना खेलाडीका रूपमा प्रस्तुत गर्दा आम बार्सिलोना समर्थकलाई जस्तै अर्जेन्टिनी खेलाडीलाई पनि मिश्रित भावना आएको हुनसक्ने बताए ।

उनले थपे, ‘मेरो इच्छा त मेसीले बार्सिलोनाकै लागि खेलोस् भन्ने हो । तर उनीबारे हामीले जे जस्तो निर्णय गरेका छौं, त्यो ठीक छ । म त खाली उनलाई शुभकामनामात्र व्यक्त गर्न सक्छु । मेरो इच्छा उनी खुसी होस् भन्ने नै हो । मेसी यसका लागि हकदार छन् । तर अबदेखि हामी प्रतिद्वन्द्वी टिममा छौं ।’बार्सिलोनाले स्पेनी ला लिगा नयाँ सिजनको आफ्नो पहिलो खेलमा रियल सोसिडाडलाई आइतबार घरमा ४–२ ले हराएको थियो । अध्यक्ष लापोर्टाले भने, ‘हामी नयाँ युगमा प्रवेश गरिरहेका छौं । अब हाम्रो लक्ष्य लामो समयका लागि योजना बनाउने हुनेछ ।’ उनले बार्सिलोनाको एकेडेमीबाट मेसीजस्तै अन्य खेलाडी जन्मिने विश्वास पोखे ।

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.