
टोकियो — २० श्रावण २०७८
टोकियो, एक महिनाअघि भएको युरो कपमा स्पेनी युवा टिमले सनसनीपूर्ण प्रदर्शन गरेको थियो । उसलाई च्याम्पियन बन्ने क्रममा इटालीले सेमिफाइनलमा टाइब्रेकरमा पन्छाएको थियो । वेम्बली (लन्डन) को त्यो प्रतिस्पर्धा पहिलो रोजाइमा खेलेका पााच खेलाडीलाई उतारेको स्पेनलाई टोकियो ओलम्पिक २०२० को सेमिफाइनलमा मंगलबार आयोजक जापानले कडा टक्कर दियो ।जापानलाई हराएर ओलम्पिक फुटबलको फाइनलमा पुगेपछि स्पेनी टिमका खेलाडी तथा अफिसियलहरू ।तर, युरोपेली क्लब फुटबलका अनुभवी खेलाडीहरूको टिमविरुद्ध घरेलु खेलाडीको मिहिनेत जापानलाई पहिलोपल्ट ओलम्पिक फाइनलमा पुऱ्याउन पर्याप्त भएन ।
ओलम्पिक फुटबल (पुरुषतर्फ) य–२३ टिमको प्रतियोगिता हो । यसमा हरेक टिमलाई २३ वर्षमाथिका तीन खेलाडी टिममा राख्न छुट दिइएको छ । कोरोनाभाइरसको महामारीले एक वर्ष धकेलिएको ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा एक वर्ष बढाएर यू–२४ टिमलाई खेलाइएको छ । जसमा २४ वर्षमाथिका तीन खेलाडीलाई पनि अवसर छ । यस कोटामा स्पेनले डयनी काभालेस, मार्को एसेन्सियो र मिकेल मेरिनोलाई टोकियो ल्याएको छ ।
रियल म्याड्रिडका फरवार्ड एसेन्सियो च्याम्पियन्स लिग र ला लिगा दुई–दुईपल्ट जितेका छन् । तर, उनलाई प्रशिक्षक डे ला फ्लुएन्टेले सेमिफाइनलमा पहिलो रोजाइमा खेलाएनन् । उनले ८३ औं मिनटमा मैदानमा प्रवेश गर्ने अवसर पाए । उनले मैदानमा युरो कपका उत्कृष्ट खेलाडीको अवार्ड विजेता पेड्री गोन्जालेजको स्थान लिए । यस्तोमा २५ वर्षीय एसेन्सियोले निर्णायक गोल गर्दै स्पेनलाई २१ वर्षपछि ओलम्पिक फुटबलमा फाइनलमा पुऱ्याइदिए ।
मिकेल ओयरजबलले पेनाल्टी क्षेत्रमा दिएको बललाई नियन्त्रण गर्दै एसेन्सियोले ११५ औं मिनेटमा सेकेन्ड बार च्याप्दै घुमाउरो रुपमा लोभलाग्दो गोल गरे, जसले पहिलोपल्ट ओलम्पिकको फाइनल खेल्ने जापानको सपना तुहाइदियो । यसमा जापानी गोलकिपर कोसेइ तानीको केही सीप चलेन । त्यसअघि तानीकै उत्कृष्ट प्रदर्शनमा खेल पेनाल्टी सुटआउटतिर बढेको थियो । उनले विश्वकप २००२ को आयोजना स्थल साइतामा रंगशालामा स्पेनी युवा खेलाडीको एकपछि अर्को प्रहारलाई रोकेका थिए । उनी एसेन्सियोलाई रोक्न भने असफल भए ।
एथलेटिक बिल्बाओका गोलकिपर उनाई सिमोनसहित सिनियर टिमका पाउ टोरेस (भिलारियल), ओयरजबल (रियल सोसिडाड), एरिक गार्सिया (म्यानचेस्टर सिटी), पेड्री (बार्सिलोना) र ड्यानी ओल्मो (आरबी लाइपजिग) ६ खेलाडीसमावेश स्पेनी टिमले उसकै परम्पराअनुसार बलमाथि पकड राख्यो । बल पोजेसनमा धेरै बलियो देखियो । दर्शकविहिन रंगशालामा गोलका अवसरहरू पनि सिर्जना गऱ्यो । तर, गोलकिपर तानी र माया योसिडा नेतृत्वको डिफेन्सले निरन्तर असफल बनाइरह्यो । त्यही डिफेन्सलाई चिर्ने काम गरे एसेन्सियोले ।
बर्सिलोना, रियल म्याड्रिड, म्यानचेस्टर सिटीलगायत ठूला क्लबहरूले खेलाडी छाड्न आनाकानी गरे पनि बलियो टिम बनाएको स्पेन अपेक्षाकृत रुपमै २१ व्र्षपछि ओलम्पिक फुटबलको फाइनलमा पुगेको हो । सन् १९९२ बार्सिलोनामा भएको ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण स्पेनले जितेको थियो । ओलम्पिक फुटबलको उसको त्यो नै एकमात्र उपाधि हो । स्पेन १९२० एन्टर्प र २००० सिड्नीमा रजतमै सीमित भएको थियो । उसलाई पछिल्लो फाइनलमा सामुएल एटोको टिम क्यामरुनले हराएको थियो । स्पेनले स्वर्णका लागि प्रतिस्पर्धा गर्दा जापानले सन् १९६८ (मेक्सिपो सिटी) मा कांस्य जितेयता पहिलो पदक जित्ने प्रयासमा मेक्सिकोविरुद्ध कांस्यका लागि खेल्नेछ ।
म्यानचेस्टर सिटीका डिफेन्डर कोउ इताकुरा, रियल म्याड्रिडका मिडफिल्डर ताकेफुसा कुबो, पीएसभी आइन्डहोभेनका मिडफिल्डर रित्सु डोहानसहित युरोपेली क्लबमा आबद्ध सात खेलाडीलाई पहिलो रोजाइमा उतारेको थियो । तैपनि जापानले स्पेनलाई उछिन्दै पहिलोपल्ट ओलम्पिक फाइनलको यात्रा तय गर्न सकेन ।
ब्राजिल लगातार तेस्रोपल्ट फाइनलमा
डिफेन्डिङ च्याम्पियन ब्राजिल पनि दुई घन्टाको प्रतिस्पर्धापछि पेनाल्टी सुटआउटमा मेक्सिकोलाई पन्छाउादै उपाधि रक्षाको अभियानमा अगाडि बढेको हो ।इबाराकी कासिमा रंगशालामा भएको पहिलो सेमिफाइनलमा अतिरिक्त समयको ३० मिनेट पनि गोलरहित सकिएपछि भएको टाइब्रेकरमा ४–१ को जित निकाल्दै ब्राजिल ओलम्पिक स्वर्णपदक रक्षाको नजिक पुगेको हो । ब्राजिली गोलकिपर सान्तोसले मेक्सिकोको पहिलो प्रहारमै एडुआर्डो अगुइरेलाई असफल पारिदिए । त्यसमा सान्तोसले उत्कृष्ट बचाउ गरे । त्यसपछि जोहान भास्क्वेजको प्रहारमा बल पोस्टमा लागेपछि ब्राजिललाई फाइनल प्रवेश गर्न गाह्रो भएन ।
बर्सिलोनाका ३८ वर्षीय पूर्वफुलब्याक ड्यानी आलभेस, ग्याब्रियल मार्टिनेली, ब्रुनो गुइमेरस र रेइनरले पेनाल्टी सुटआउटमा सटिक प्रहार गरेपछि ब्राजिल लगातार तेस्रोपल्ट ओलम्पिक फुटबलको फाइनलमा पुग्यो । निर्धारित समयमै ब्राजिल जितनजिक पुगेको थियो । तर, इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले ८२ औं मिनेटरमा गरेको हेडरमा गोलपोस्ट वाधक बनेको थियो । त्यसैले खेल टाइब्रेकरसम्म लम्बियो ।
लन्डन ओलम्पिक २०१२ मा स्वर्णको प्रतिस्पर्धामा मेक्सिकोले ब्राजिललाई २–१ ले हराएको थियो । घरेलु भूमिमा भएको रियो ओलम्पिक २०१६ मा भने ब्राजिल टाइब्रेकरमा जर्मनीलाई पराजित गर्दै पहिलोपल्ट ओलम्पिक च्याम्पियन भएको थियो । नेयमार प्रेरित त्यो सफलतालाई आलभेसको नेतृत्वमा ब्राजिलले टोकियोमा रक्षा गर्ने अपेक्षा गरिएको छ । यसपटक टोकियोमा स्वर्णका लागि ब्राजिल र स्पेन योकोहामा रंगशालामा शनिबार भिड्नेछन् ।
(कान्तिपुर दैनिक)
