
प्रकाश कपाली। काठमाडौं संसद पुर्नस्थापना भएसँगै सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि यही असार २९ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको पदमा नियुक्त गराउनुभएको थियो। नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुभएको हो। संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा नियुक्त भएका शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ६ अनुसार ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी प्राबधान छ। सोही कानुनी प्रावधानलाई आत्मासात् गर्दै प्रधानमन्त्री शेरबहादुर देउबाले आज संसदमा विश्वासको मत लिनु भएको छ। संसदमा विश्वासको मत लिँदा जनताको जीवन रक्षानै आफ्नो प्रमुख प्राथमिकता रहेको उहाँले बताउनुभएको थियो। यसैगरी संसदमा उपस्थित हुनुभएका २४९ सांसदहरुमध्ये प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा १६५ मत खसेको छ भने उहाँको विपक्षमा ८३ र तटस्थमा १ मत खसेको छ। संसदमा विश्वासको मतको पक्षमा धेरै मत खसेकोले साढे एक वर्षसम्म प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले मुलुक र जनताको हकहितको पक्षमा काम गर्ने र विगतका सरकारले गरेका गल्तीहरुलाई सच्याउँदै अगाडि बढ्ने मार्ग प्रशस्त भएको छ।
