
काठमाडौँ — ९ जेष्ठ
काठमाडौँ , संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुरानै आकांक्षाको निरन्तरता भएको विवेकशील साझा पार्टीले जनाएको छ ।
सर्वोच्च अदालतले यसअघिजस्तै संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास पनि पार्टीले व्यक्त गरेको छ । पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठकको निष्कर्ष सार्वजनिक गर्दै आइतबार जारी गरेको विज्ञप्तिमा कोभिड-१९ ले मुलुक आक्रान्त भएको र औषधि, अक्सिजन, अस्पताल-शय्या नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु ‘मानवीय संवेदनाहीन क्रूरता’ भएको टिप्पणी गरिएको छ । पार्टीले अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएको छ ।
मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार रहेको पार्टीले औंल्याएको छ । ‘परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउनुपरिरहेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘अघिल्लो पटक संसद् विघटन हुँदा विरोधको एकै स्वर बोलेका प्रतिपक्षी दलहरू ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन के–कति स्वार्थले एक ठाउँ उभिन सकेनन् ? ओली र भण्डारीको सर्वसत्तावादबाट मुलुकलाई जोगाउन विपक्षी दलहरू कहाँ–कहाँ र कसरी चुके? यो प्रश्नको इमानदार जवाफ उनीहरूले दिनुपर्छ।’
प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठपूर्ण ढंगबाट लोकतन्त्रविरुद्ध प्रहार गरिरहेको भन्दै पार्टीले यसको एक भएर विरोध गर्न नागरिक तथा राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ ।
( आजको कान्तिपुर दैनिकमा )
