
काठमाडौँ — ७ जेष्ठ
काठमाडौँ , नेपाली कांग्रेसले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ। शुक्रबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पूर्वपदाधिकारी र पदाधिकारीको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानको मर्म र भावनामाथि प्रहार भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि नेता प्रकाशशरण महतले संविधान र लोकतन्त्रको रक्षाका लागि अन्य दलसँग सबै विकल्पमा छलफल गर्ने निर्णय भएको बताए । त्यसका लागि अन्य दलहरुसँग कांग्रेसले केहीबेरमै छलफल गर्ने उनले जानकारी दिए ।
‘संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि जुन आह्वान गरिएको छ, संविधानको मर्म र भावनालाई फेरि पनि बेवास्ता गरेको हाम्रो ठहर छ । निरन्तर रूपमा संविधानको मर्म र भावनालाई कुल्चिने काम प्रधानमन्त्रीको नेतृत्वमा यो सरकारले गर्दै आएको छ । त्यसमा राष्ट्रपतिजीले पनि पटकपटक त्यो किसिमको प्रवृत्ति देखाएको स्पष्टै छ,’ नेता महतले भने, ‘त्यो प्रवृत्ति हाबी हुन नदिन, कुन बाटो अख्तियार गर्दा त्यो रोक्न सक्छौं, त्यो सबै विकल्पमा छलफल गरेर निष्कर्षमा पुग्छौं । त्यसका लागि अरू पार्टीहरूसँग छलफल गर्छौं ।’
( आजको कान्तिपुर दैनिकमा )
