
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति राम चन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री पुष्प कमल दाहालले विश्वास गुमाएसँगै राष्ट्रपतिले शुक्रबार बहुमतीय सरकार गठनका लागि प्रधानमन्त्रीमा दावी पेश आह्वान गरेका थिए ।
नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको मात्र दावी पेश भएको थियो । सोमबार विहान ११ बजे सपथको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्दैछन् । असार १७ गते राति भएको सात बुँदे सहमतिले काँग्रेस–एमालेविच छैठौं सत्ता सहकार्यको ढोका खोलेसँगै ओलीले प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न लागेका हुन् ।