
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौँमा सुरु गर्न लागेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् । उनले भने, “शान्तिसुरक्षा कायम राख्नका लागि सुरक्षा समितिको संयुक्त बैठकले चार हजारभन्दा बढीको सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ, हामीलाई आशा छ प्रदर्शनकारीहरुले निषेधाज्ञा तोड्ने छैनन र अप्रिय घटना हुने छैन ।”
प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
अहिले काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने विभिन्न ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएका छन् ।
