
दोलखा — १३ असोज २०७८
दोलखा , दोलखा कांग्रेसले जिल्ला कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिनका लागि चर्को मनोनयन शुल्क तोकेपछि विवाद उत्पन्न भएको छ । अधिवेशनमा जिल्लाभरबाट आउने प्रतिनिधि व्यवस्थापनका लागि भन्दै उम्मेदवार शुल्क चर्को तोकिएको हो । जिल्ला अधिवेशन असोज १५ गते गर्ने तयारी गरेको गरिएको दोलखामा जिल्ला सभापति उम्मेदवारको मनोनयनका लागि ६० हजार तोकिएको छ । कांग्रेस केन्द्रीय सभापतिको उम्मेदवारी मनोनयन दर्ता ३० हजार मात्र छ । त्यस्तै, महाधिवेशन प्रतिनिधिका लागि उमेदवारी दर्ता गर्न ५० हजार शुल्क तोकिएको छ । यस्तै, जिल्ला कार्यसमिति पदाधिकारीका लागि ४० हजार र कार्यसमिति सदस्यका लागि १५ हजार मनोनयन शुल्क तोकिएको छ । मंगलबार हुने क्षेत्रीय अधिवेशनका लागि सभापतिका लागि मनोनयन शुल्क ३० हजार तोकिएको छ । पार्टी केन्द्रले जिल्ला सभापतिका लागि १० हजार र महाधिवेशन प्रतिनिधिका लागि ५ हजार शुल्क तोकेको छ ।
‘पार्टी केन्द्रमा सीमान्तकृत, अल्पसंख्यक अपांग सबैको प्रतिनिधित्वका लागि महाधिवेशन प्रतिनिधि छनोट विधि छ,’ पाण्डेले भने, ‘यतिधेरै रकम मनोनयन तिरेर यस्ता वर्गले कसरी प्रतिनिधित्व गर्छ ।’ पार्टी केन्द्रको निर्देशिकाविपरीत गरिए सबैको प्रतिनिधित्व गराउन तालाबन्दी समेतको चेतावनी दिएका छौं । पार्टी सभापतिका अर्का आकांक्षी बर्मा लामाले अधिवेशनमा ठूलो संख्यामा प्रतिनिधि आउने भएकाले मनोनयन शुल्क बढाउनुपरेको हुन सक्ने बताए । पार्टीको आर्थिक स्रोत नभएकाले जिल्लाभरबाट आउने १६ सय प्रतिनिधिलाई खाना तथा आवासको व्यवस्थापन गर्न मनोनयन शुल्क बढाइएको सभापति रुद्रबहादुर खड्काले बताए । ‘पार्टीको आर्थिक स्रोत छैन, अधिवेशनमा ९० लाखसम्म खर्च हुन्छ,’ उनले भने, ‘प्रतिनिधि व्यवस्थापन र अधिवेशन खर्चका लागि मनोनयन शुल्क केही बढाइएको हो ।’ आर्थिक स्रोत अन्यत्रबाट जुटेको खण्डमा उम्मेदवारी मनोनयन शुल्कबारे पुनर्विचार गर्न सकिने उनको भनाइ छ ।
यसैबीच नेपाली कांग्रेसको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । कुल खसेको १ हजार ४ सय ६६ मतमध्ये अधिकारीले ६ सय ४९ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । मतदान अधिकृत श्रीराम दवाडीका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीले ५ सय ४६ मत ल्याए । भरत अधिकारी यसअघिका नगर सभापति हुन् । विजयी चित्रसेन अधिकारी भरतपुर महानगरपालिकाको वडा नम्बर २१ का वडाध्यक्षसमेत हुन् । भरतपुर कांग्रेसको सभापतिमा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए । भरतपुर कांग्रेसको उपसभापति पदमा बुद्धिकान्त न्यौपाने र विजय घले, सचिवमा प्रनिशा गुरुङ र कृष्ण बगाले तथा सह–सचिवमा कल्पना खड्का पौडेल र उपेन्द्र पण्डित विजयी भए ।
( कान्तिपुर दैनिक )
