Fast Nepal News

प्रदेश १ मा सत्ता जोगाउन एमालेको कसरत : राईले राजीनामा दिने, आचार्यलाई मुख्यमन्त्री बनाउने

banner single news

मोरङ — १० भाद्र २०७८

मोरङ, एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल खोलेसँगै प्रदेश १ को सत्ता–राजनीति तरंगित भएको छ । प्रदेशमा सत्तारूढ एमालेको बहुमत कायम राख्न मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यलाई मुख्यमन्त्रीमा शपथ गराउने तयारी थालिएको छ । एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री परिवर्तनका लागि बिहीबार बिहान ११ बजे प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बोलाइएको बताए । ‘दलको बैठकले पार्टीको संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गर्नेछ,’ उनले भने, ‘आचार्यज्यू दलको नेता चयन हुनुभएपछि वर्तमान मुख्यमन्त्री शेरधन राईज्यूले राजीनामा दिने र उहाँलाई मुख्यमन्त्री बनाएर शपथ ग्रहण गराउने तयारीमा छौं ।’

काठमाडौंमा रहेका आचार्यलगायत प्रदेश सांसदहरू अहिले विराटनगर आउने क्रममा रहेको प्रमुख सचेतक राजभण्डारीले बताए ।९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना सांसद छन् ।एमालेका सांसदमध्ये गुलेफुन खातुन किर्ते कागज मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि फरार छन् ।दल विभाजनको स्थितिमा प्रदेशसभामा बहुमत कायम राख्न आवश्यक ४६ सांसदलाई एमालेमा रोक्न चुनौती देखिएपछि मुख्यमन्त्री राईले राजीनामा दिएर सहजीकरण गर्न लागेको राजभण्डारीको भनाइ थियो ।

एकीकृत समाजवादीमा खुलेका आठ सांसदलाई अधिकतम चार जनामा सीमित गर्ने रणनीतिसाथ एमालेले मुख्यमन्त्री परिवर्तनको चाल चलेको हो । प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, राजन राई, सुनीताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरे एकीकृत समाजवादीमा लागेका छन् ।तीमध्ये चौधरी, थापा, साँवा र घिमिरे भीम आचार्यनिकट मानिएकाले उनलाई मुख्यमन्त्री बनाए चार जना यतै फर्कने विश्वासका साथ राईलाई राजीनामा दिन लगाइएको एमालेनिकट एक नेताले बताए ।एमालेका ६ सांसद सावित्रीकुमारी रेग्मी, लीलावल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङ अहिलेसम्म तटस्थ छन् । उनीहरूलाई पनि समाजवादीतिर जान नदिने रणनीतिसाथ एमाले अघि बढेको छ ।

Inside Article Ads

आचार्य निकट र तटस्थ बसेकाहरू एमालेमै रहँदा पनि एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीकी पत्नी प्रदेश सांसद सावित्रीकुमारी रेग्मी र झलनाथ खनालनिकट प्रदेश सांसद खिनु लङ्बा लिम्बूले एमालेको साथ छोड्ने निश्चित छ । यसरी हेर्दा राजेन्द्रकुमार, गणेशकुमार, कृष्णकुमारी, राजन, सावित्रीकुमारी र खिनु गरी ६ जना एकीकृत समाजवादीतिरै हुनेछन् ।सत्ताको अंकगणितका हिसाबले यी ६ जनासहितको विपक्षी गठबन्धन प्रदेश १ मा सरकार बनाउन पर्याप्त हुनेछ । कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र एकीकृत समाजवादीका ६ सांसद जोड्दा सरकार गठनका लागि आवश्यक ४६ संख्या पुग्छ ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.