
काठमाडौँ — १९ श्रावण २०७८
काठमाडौँ, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । सोमबार वरिष्ठ नेता नेपालसहित नेकपा (एमाले)का स्थायी कमिटी सदस्यहरुबीच पार्टी एकताका लागि भइरहेका प्रयासहरुबारे छलफल भएको थियो । सोही छलफलमा वरिष्ठ नेता नेपालले एकता नै आफूहरूको चाहना रहेको बताएको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।सम्बोधनमा नेता नेपालले भनेका थिए, ‘कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।’छलफलमा एकता प्रयास कसरी अघि बढिरहेको छ भन्नेबारे कार्यदलमा रहेका सदस्यहरु र वार्ता प्रक्रियामा सहभागी सदस्यहरुले जानकारी गराएका थिए ।
छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिँदै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रक्रियामा आँच नपुगोस् भन्नेतर्फ सबैले ध्यान दिनुपर्ने राय व्यक्त गरेका थिए । पार्टी एकताको महत्वपूर्ण कार्यलाई परिणाममा पुर्याउन जिम्मेवार व्यक्तिहरू संयमित, जिम्मेवार र संवेदनशील भएर लाग्नुपर्नेमा पनि स्थायी कमिटी सदस्यहरूले जोड दिएका थिए ।बैठकमा वरिष्ठ नेता नेपालसहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो ।
(कान्तिपुर दैनिक)
