
काठमाडौँ – १९ श्रावण २०७८
काठमाडौँ, सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्षमा सत्तासीन दलहरुले निकालेका छन् ।सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको छलफलले उक्त निष्कर्ष निकालेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको भागबण्डा र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरेका थिए ।
बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनसाथ मन्त्रिपरिषद् विस्तार हुने बताए । कार्यक्रमलाई अन्तिम टुंगो दिन कार्यदलको बैठक मंगलबार बिहान पनि बोलाइएको छ । ‘कार्यक्रम कहिले सार्वजनिक गर्ने भन्ने तय भएको छैन । अब चाँडै नै हुन्छ,’ खड्काले भने, ‘त्यसलगतै मन्त्रिपरिषद् विस्तार गर्ने योजना छ ।’नेताहरुले एमालेको नेपाल पक्ष सहभागी हुँदा र नहुँदाको दुवै अवस्थामा मन्त्रालय कसरी भागबण्डा गर्ने भन्ने विषयमासमेत छलफल गरेका छन् । कार्यदलले मन्त्रालयको भागबण्डाको मापदण्ड र संख्या निर्धारण गरिएको सुझाव गठबन्धन दलका शीर्ष नेताहरुलाई दिएको छ । त्यसैको आधारमा छलफल भएपनि एमालेभित्रको एकताले लिने मोडबारे अनिश्चिय भएकाले निर्णय भने हुन सकेको छैन ।
गठबन्धन दलबीच समझदारी नबन्दा सबै पार्टीका आन्तरिक शक्ति सन्तुलन मिलाएर मन्त्री छान्नसमेत नेताहरुलाई सकस परेको छ । एउटै राजनीतिक दलभित्र फरकफरक समूहबीच पनि भागबण्डा गर्नुपर्ने बाध्यता सबैजसो राजनीतिक दलमा छ ।असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अर्थमन्त्री जनार्दन शर्माले शपथ लिएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।सरकार गठन भएको २० दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।
