
लमजुङ — १० श्रावण २०७८
लमजुङ, नेपाली सेनाको प्राविधिक टोलीले मनाङमा बाढीपहिरोले क्षतिग्रस्त सडकको अध्ययन थालेको छ । बाढी र पहिरोले सडक, गोरेटो र बस्ती बगाएको छ ।सेनाको हेलिकप्टरमार्फत मनाङ आएको टोलीले भ्राताङभीर, चामे हुँदै बेंसीसहर–चामे सडक क्षतिबारे अध्ययन गर्नेछ । कुल ६५ किलोमिटरको बेंसीसहर–चामे सडकमा लमजुङ खण्ड बेंसीसहर–म्यार्दी खोलासम्मको ३५ किलोमिटर आंशिक सञ्चालनमा छ । म्यार्दीदेखि चामेसम्मको ३० किलोमिटर पूर्णरूपमा बन्द छ । चामेदेखि ३ किलोमिटरको भ्राताङसम्म सडक पनि बन्द छ । भ्राताङदेखि माथिल्लो क्षेत्रको सडक मर्मत भइरहेको छ ।
महासेनानी इन्दिबर गुरुङको नेतृत्वमा ४ जनाको प्राविधिक टोलीले अध्ययन थालेको हो । सेनाले निर्माण गरेको बेंसीसहर–चामे सडकलाई २०६९ मा निर्माण सक्दा गुरुङले नै नेतृत्व लिएका थिए । ‘यो सडक हेर्न अहिले मलाई नै खटाइयो । माथिल्लो क्षेत्रको भ्राताङ क्षेत्रको सडक र चामेमा रहेको पुलका साथै यसले पुर्याएको क्षतिबारे अध्ययन गरियो,’ उनले भने । शुक्रबार मनाङ आएको टोलीले शनिबार माथिल्लो मनाङको भ्राताङसहित चामे क्षेत्रको सडक अध्ययन अवलोकन गरेको र आइतबारदेखि चामेदेखि तल्लो क्षेत्रको अध्ययन अवलोकन गर्ने गुरुङले बताए ।
सेनाले पहिलेको सडक र अहिलेको अवस्था, माटो र चट्टानको अवस्था, विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने, ग्याबिन लगाउनुपर्ने, नयाँ ट्र्याक बनाउनुपर्ने, पुल बनाउनुपर्ने क्षेत्रलगायत अध्ययन गर्नेछ । मनाङमा बाढीले क्षति पुर्याउने क्रम भने रोकिएको छैन । सेनाले हालसम्म सडकमा पुर्याएको क्षति र गर्नुपर्ने कामबारे सरकारलाई अध्ययन प्रतिवेदन बुझाउनेछ ।प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीले सडक र पुलमा पुर्याएको क्षतिबारे नेपाली सेनाको प्राविधिक टोलीले अध्ययन थालेको बताए । उनका अनुसार बाढीपहिरोले मनाङ सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद छ ।
(कान्तिपुर दैनिक)
