
प्रकाश कपाली राजनैतिक जीवनमा आदर्श विचार बोकेका मदन भण्डारी एक सक्षम नेतृत्वकर्ता मात्र होइनन् यसलाई देशलाई मार्गनिर्देशन गर्ने , देश समृद्ध को यात्रामा अघि बढोस् भन्ने चाहना राख्ने, देश र जनताको लागि आफ्नो जीवन समर्पण गर्ने एक कुशल नेता, समाजसेवी, आदर्श विचारमा सबैलाई अगाडि बढाउने प्रेरणाका स्रोत पनि हुन्। आज हामीले मदन भण्डारीको विचार र सिद्धान्तहरूलाई आत्मसात् गर्दै अगाडि बढ्ने हो भने मुलुक समृद्धिको यात्रामा अवश्य नै प्रवेश गर्दछ। मदन भण्डारीले देखेका समृद्धिका सपनाका रेखाहरु हामीले अवश्य नै पुरा गर्न सक्नेछौं। उहाँका समृद्धिका सपना, विकासको सपना पूरा गर्ने भनेकै आजको युवा पुस्ता हुन्। जनताको बहुदलीय जनवाद शब्द आफैमा प्रशंसनीय छ । जनताको बहुदलीय जनबाद प्रशंसनीय मात्र होइन यसमा देशको उज्ज्वल भविष्यको सपनाका रेखाहरु कोरिएका छन्। सुखी नेपालीको परिकल्पना गरेको छ। समृद्ध नेपालको बाटोलाई पछ्याएको छ। हरेक युवाहरूलाई राष्ट्रको नेतृत्व गर्ने प्रेरणा मदन भण्डारीका आदर्श सिद्धान्त र विचारहरु बाट प्रदान भएको छ। जनताको बहुदलीय जनबाद विगतका परिवेशलाई मध्यनजर गर्दै वर्तमान परिस्थितिको अवस्थालाई नियाल्दै देशलाई विकासको मार्गमा लैजान र भविष्यमा राष्ट्रलाई अझ कसरी विकास र प्रगतिको मार्गमा लगी समृद्ध नेपालको सपनाको परिकल्पना गरिएको छ। जीवनलाई आदर्शको रुपमा लिन, जनताको हकहितको लागि आफ्नो जीवन समर्थनको पाठ जननेता मदन भण्डारीले हामी सबैलाई सिकाएका छन्। समतामूलक समाजको निर्माण, समाजमा शान्ति, सुशासनको प्रत्याभूतिका सही उद्देश्यहरुलाई समाजमा स्थापित गर्न सफल भएका नेता मदन भण्डारी हुन्। परिवर्तनको एउटा मार्गमा लाग्ने प्रेरणाको स्रोत मदन भण्डारी हुन् । सहि बिचार, सही बाटो, सहि प्रयासको मार्गबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ भनेर समाजलाई ठूलो पाठ सिकाएर प्रेरणा दिने एक चरित्रवान व्यक्तिको रूपमा मदन भण्डारी रहेका छन्। जनताको दिलमा बस्न सफल भएका उनको आदर्श र विचार एकदमै प्रशंसनीय छ। मदन भण्डारीको आज ७० औं जन्मजयन्ती मनाइरहँदा धेरै व्यक्तिले उहाँका आदर्श र विचारहरुलाई अनुकरण गर्नु अति नै आवश्यक छ। देशका अधिकांश राज्य सञ्चालकहरुले विभिन्न कार्यक्रम गरिरहेको अवस्थामा सम्बोधन गर्ने क्रममा मदन भण्डारीको महान् कार्यको गुणगान गाई रहनुभन्दा मदन भण्डारीका बिचार सिद्धान्तहरुलाई अवलम्बन गर्दै समृद्ध नेपाल निर्माण कसरी गर्ने भन्ने विषय तर्फ सोच्नुपर्छ । वर्षको एकचोटि मदन भण्डारीको सम्झना गर्दैमा मात्र उहाँको आदर्श विचार र सिद्धान्तको सम्मान हुँदैन । उहाँले हामीलाई अभिप्रेरणा प्रदान गर्नुभएको हरेक बाटोमा हामी हिँड्यौ भने मात्र उहाँप्रति हामीले गर्ने सम्मान साचो ठहर हुन्छ। मुलुकको आजको विषम परिस्थितिलाई हेर्दा कसैले पनि मदन भण्डारीका आदर्श र सिद्धान्तहरुलाई पछ्याएको पाइदैन। नेपाल कम्युनिष्ट पार्टीको नेताहरु आज सत्तामा रहँदा पनि कतिपय नेताहरु कुर्सीकै लागी दौडिरहेको रहेको छ भने, कतिपयले सत्ता जोगाउन को लागि संवैधानिक कू गए गरी संसद बिघटन जस्तो असंवैधानिक कार्य गरेका छन्। के यो मदन भण्डारीको विचार र आदर्श प्रतिको सम्मान हो र? आज प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा मुद्दा अवस्थामा रहेको बेलामा हामी मदन भण्डारीको स्मरण गरिरहेका छौं। जननेता मदन भण्डारीका कार्य जनताप्रतिको समर्पणको बयान अविस्मरणीय छ । त्यही पनि आदेशमा चुलेको राजनीतिक संकटको सिकार नेपाली जनता हुनुपरेको छ र के यो दुःखको विषय होइन र? अबका दिनहरुमा युवा पुस्ताहरुले जननेता मदन भण्डारीका आदर्श र विचारलाई पछ्याउँदै आफूलाई देशको एक सक्षम नेतृत्वकर्ता रूपमा विकास गर्नेतर्फ सबै युवा पिँढी हरूको ध्यान जानु अति नै आवश्यक देखिन्छ ।
