Fast Nepal News

उपत्यकामा निषेधाज्ञा खुकुलो गर्ने निर्णयसहित एक साताका लागि लम्बियो

व्यापार व्यवसाय, सवारी साधन संचालन लगायत प्रशासनिक कार्य सञ्चालन गर्न दिने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्णय गरेको छ

banner single news

प्रकाश कपाली ‌‌। काठमाडौँ-पछिल्लो समयमा उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम घट्दै गएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा खुकुलो गर्ने निर्णयसहित एक साताका लागि निषेधाज्ञा लम्बिने भएको छ। निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै व्यापार व्यवसाय, सवारी साधन संचालन लगायत प्रशासनिक कार्य सञ्चालन गर्न दिने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्णय गरेको छ। आइतबार, मंगलबार ,बिहीबारका दिन सुन पसल ,भाडा पसल, अटोमोबाइल पार्टसका पसल संचालन गर्न दिने र यसैगरी सोमबार ,बुधबार र शुक्रबार खेलकुद सामग्री पसल, कपडा पसल, जुत्ता पसल, फेन्सी पसल खोल्न दिने बैठकले निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो। यसैगरी निर्माण सामग्री पसल दैनिकरुपमा बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिने भएको छ। पराजुलीका अनुसार तरकारी ,मासु, किराना पसल लगायतका खाद्यान्न पसलहरू बिहान ११ बजेसम्म खोल्न दिने भएको छ। यसैगरी निषेधाज्ञाको मोडालिटी परिवर्तन भएसँगै सवारी साधन चलाउन पाउने भएको छ। सवारी साधनमा जोरविजोर प्रणाली लागू हुनेछ ‌‌। निजी सवारी साधनमा चार जनासम्म बस्न पाउने छन्। अनलाईन संस्था, सवारी साधन मर्मत पसलहरू ७ बजेसम्म सञ्चालन गर्न पाउने काठमाडौ जिल्ला प्रशासन कार्यालयले बताएको छ। कार्यालय सञ्चालनको हकमा कार्यालय प्रमुखले आलोपालो गरी कार्यालयमा सामाजिक दूरी कायम गर्दै कार्यालय संचालन गर्न सक्ने काठमाडौ जिल्ला प्रशासन कार्यालयले बताएको छ। उपत्यकाको हकमा तत्कालै विद्यालयहरु सञ्चालनमा नआउने काठमाडौ जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अनिबार्य रुपमा माक्सको प्रयोग र सामाजिक दूरी कायम गर्दै कार्यहरु सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन्। यदि कोरोना भाइरसबाट धेरै व्यक्ति संक्रमित भएको अवस्थामा निषेधाज्ञा लागु गरिने नियम परिवर्तन हुन सक्ने पनि उनले बताए ‌। निषेधाज्ञाको मोडालिटी परिवर्तनसम्बन्धी नियम उपत्यकाको हकमा मात्र लागू हुने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्। यसैगरी विगतका समयमा भन्दा उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको सङ्ख्या घटेको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ जिल्लामा सक्रियरुपमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५,९१२ रहेको छ भने निको हुने व्यक्तिको सङ्ख्या १९,३८०९ र मृत्यु हुनेको संख्या १,८२० गरी जम्मा संक्रमितको संख्या २०,१५४१ रहेको छ। यसैगरी भक्तपुर जिल्लामा सक्रियरुपमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या २,११२ रहेको छ भने निको हुने व्यक्तिको सङ्ख्या १९,३२५ र मृत्यु हुनेको संख्या ३५५ गरी जम्मा संक्रमितको संख्या २१,७९२ रहेको छ। यसैगरी ललितपुर जिल्लामा सक्रियरुपमा कोरोना भाइरसबाट संक्रमित हुने ‌व्यक्तिको संख्या २,७२९ रहेको छ भने निको हुने व्यक्तिको सङ्ख्या ३३,४२६ र मृत्यु हुनेको संख्या ५३९ गरी जम्मा संक्रमितको संख्या ३६,६८४ रहेको छ।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.