Fast Nepal News
Banner Below header

सेयर धितोमा कर्जा ९४ प्रतिशत बढ्यो

banner single news

काठमाडौँ — ११ जेष्ठ

काठमाडौँ , गत असारदेखि चैतसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ९१ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कर्जा करिब ९४ प्रतिशतले बढेको हो ।

२०७६ चैतमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ४७ अर्ब ४३ करोड रुपैयाँ प्रवाह गरेका थिए । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा कर्जा (मार्जिन प्रकृतिको) धेरैले बढेको छ ।

दोस्रो लहरको कोरोना संक्रमण तीव्र बनेसँगै अर्थतन्त्रका अरू क्षेत्र ठप्प छन् । जसकारण ती क्षेत्रबाट कर्जा माग हुन सकेको छैन । सेयर बजार भने निरन्तर उकालो लागिरहेको छ । यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा विस्तार गरेको जानकारहरू बताउँछन् ।

Inside Article Ads

गत असारयताको कर्जा विस्तारलाई मात्र हेर्दा पनि अर्थतन्त्रका सबै क्षेत्रमध्ये सेयर धितोमा सबैभन्दा बढी ८२.३ प्रतिशत बढेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा २३ प्रतिशत बढेको छ । यसमध्ये ट्रस्ट रिसिप्ट/आयात कर्जा ४०.८, विपन्न वर्ग कर्जा ३८, रियल इस्टेट कर्जा करिब १५, ओभर ड्राफ्ट साढे २७, आवधिक कर्जा २२ र चालु पँजी कर्जा २० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत असारमा यस्तो कर्जा ५० अर्ब ४० करोड रुपैयाँ थियो ।

सेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा प्रवाह बढाएका हुन् । अघिल्लो निषेधाज्ञाको अवधिमा तीन महिनाभन्दा बढी सेयर बजार बन्द थियो । त्यसपछि खुलेको बजार निरन्तरजसो बढिरहेको छ । यही कारण बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि यही क्षेत्रमा केन्द्रित भएको बैंकरहरूले बताएका छन् । जसका कारण यसअघि सेयर धितोमा लगानी नगर्ने ठूला वाणिज्य बैंक पनि सेयर कर्जाकै लागि छुट्टै प्रडक्ट बनाएर बजार आएका छन् । यो पनि सेयर धितोमा कर्जा उल्लेख्य बढ्नुको प्रमुख कारण भएको बताइएको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्म ओभरड्राफ्ट कर्जा करिब साढे २७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा वृद्धिदर ७.८ प्रतिशत मात्र थियो । व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको अधिकांश कर्जा पनि सेयर बजारमा गएको बताइएको छ । यो शीर्षकमा प्रवाह भएको कर्जाको प्रयोजन खुलाइएको हुँदैन । यसकारण बजार बढेसँगै ओभरड्राफ्ट कर्जा पनि वृद्धि भएकाले धेरै रकम सेयर बजारमा गएको जानकारहरू बताउँछन् । एउटै क्षेत्रमा धेरै कर्जा प्रवाह हुँदा जोखिम पनि धेरै हुने उनीहरूको भनाइ छ । यस विषयमा राष्ट्र बैंक पनि जानकार छ ।

( आजको कान्तिपुर दैनिकमा )

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.