Fast Nepal News

सीसीएमसीको सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

banner single news

काठमाडौँ — ११ जेष्ठ

काठमाडौँ, सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीईओमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

शर्मासँग नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमान्डरको समेत भूमिका निर्वाह गरिसकेको अनुभव छ । यसअघि सरकारले शर्माको नेतृत्वमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) को निर्माण कार्य अघि बढाएको थियो ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीसीएमसीको पुनर्गठन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशक समिति बनाएको छ । ‘विशेष समस्या सम्बोधन’ गर्नका लागि ‘विशेष एजेन्सी’ प्रभावकारी भएको अनुभवका आधारमा यस्तो व्यवस्था गरिएको भट्टराईले बताएका छन् ।

यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । उपप्रधानमन्त्री पोखरेल अब प्रधानमन्त्री मातहतको निर्देशक समितिको सदस्य मात्र रहनेछन् । प्रधानमन्त्री मातहतको निर्देशक समितिअन्तर्गत काम गर्ने गरी ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ रहनेछ । यो केन्द्रको प्रमुखमा बाह्रौं तहका स्वास्थ्य सेवाका अधिकृत रहनेछन् ।

Inside Article Ads

प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमा उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र परराष्ट्रमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहन्छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको प्रमुख उक्त निर्देशक समितिको सदस्य सचिव रहनेछन् ।

उक्त केन्द्रले निर्देशक समितिअन्तर्गत रहेर काम गर्नेछ । निर्देशक समितिको बैठकमा सम्बन्धित निकायका अधिकारी वा विषयविज्ञलाई आमन्त्रण गर्न सकिनेछ । निर्देशक समितिको काम कोभिड–१९ नियन्त्रणका लागि नीति, योजना निर्माण गर्नेदेखि प्रदेश तथा स्थानीय तहबीच समन्वय गर्ने, बाह्य सहयोग परिचालन गर्ने तथा संघ, प्रदेश र स्थानीय तहको भूमिका निर्धारण गर्नेसम्मका छन् ।

( आजको कान्तिपुर दैनिकमा )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.