लमजुङ — ५ जेष्ठ
लमजुङ, लमजुङमा बुधबार बिहान गएको भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
लमजुङको बेंसीसहर नगरपालिका–६ चनौटेमा बुधबार बिहान भूकम्पले भत्किएको घर । तस्बिर सौजन्य : कृष्ण आले
भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको बताए । उनका अनुसार केही घरमा क्षति पुगेको र केही स्थानीय घाइते भएको जानकारीमा आएको छ । ‘तर यकिन विवरण आउन अझै बाँकी छ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए । दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए ।
स्थानीयका अनुसार मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी घाइते भएका छन् । डीएसपी गंगाबहादुर थापाले केही घर भत्किएको र केही घाइते भएको जानकारी आए पनि सबै विवरण आइनसकेको बताए । ‘भागाभाग मच्चिँदा केही सामान्य घाइते भएका छन्,’ उनले भने, ‘केहीका गोठ, धन्सार तथा कुखुराका खोरहरू भत्किएका छन् ।’
बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भूकम्पमा घर क्षति भएका केही स्थानीय र घाइतेहरूलाई आफूले भेटेको बताए । केही घरमा क्षति पुगेको र केही घाइते भएको जानकारी रहे पनि सबै विवरण आइनसकेको उनको भनाइ छ ।
( आजको कान्तिपुर दैनिकमा )