
डिएन घिसिङ
जब मानिसले जीवनका अँध्यारा पाटाहरु छिचोल्दै अघि बढछ, ऊ पुग्ने गन्तब्य भनेको उज्यालोको सामिप्यतामा नै हो । सायदै ती व्यक्तिहरु मध्ये कमैले मात्र असफलता हात पार्लान्। तर यसका लागि धैर्यता, साहस र आत्मविश्वासको उत्तिकै खाँचो रहन्छ ।सायदै ती व्यक्तिहरु मध्ये कमै मात्र असफल बनेका हुन्छन् जो समयक्रमसँगै समाजको असली नायक साबित हुन्छ। तिनै मध्येका एक सफल व्यक्ति हुन् ट्रेकिङ् व्यवसायी रत्न कुमार तामाङ (रामकुमार)।
बाल्यकालको सकसपुर्ण अवस्थामा नियतिसँग पैठेजोरी खेल्दै जीवनका अनगिन्ती मोडहरुको यात्रामा प्रायश:थाप्लोमा नाम्लो र ढाडमा बोझिलो भारी बोकेर भरियाको जीवन गुजारेका रामकुमारले हासिल गरेको मुकाम शायद धेरैका लागि प्रेरणादायी बन्न सक्छ ।
रामकुमार उर्फ रत्न कुमार तामाङको जन्म खाेटाङको विकट गाउँ झाक्रीबासमा एक विपन्न परिवारमा भएको थियो।जीवनको छ दशकको हाराहारीमा पाइला टेक्दै गर्दा एक अध्याय उनको थप्पिएको छ, लेखकको रुपमा । जीवनको भोगाई र यात्रा संस्मरणको रूपमा तयार गरिएको उनको “ट्रेकिङका सम्झनाहरु” पुस्तक सार्वजनिक भएपछि उनी थप चर्चामा आएका छन् ।
रामकुमारले बाल्यकालमा औपचारिक शिक्षाको अवसर त परै जाओस् पेटभरि खाना खान समेत धौधौ हुने परिस्थितीको सामना गरे । बाध्यता निकै संकटपुर्ण वातावरणमा हुर्केका उनले आफुलाई हिम्मत र साहसले कहिल्यै निराशा हुन दिएन। युवा अवस्थामा पाखुरामा बल र छातीमा आँट लिएर शहर छिरे र इमानदारीका साथ पाखा र कन्दरामा पर्यटकसँगै रमाउन थाले।विदेशी पर्यटकको आँखामा परे र विश्वासलाई कहिल्यै पनि डग्मगाउन दिएनन् उनले।
औपचारिक शिक्षाबाट विमुख भएको तितो अनुभव भाेगेका उनले गज्जबको संकल्प लिए, त्यो थियो छोरा र छोरीलाई डाक्टर पढाउने । यही धोको बमोजिम छोरालाई प्रोत्साहन पनि गरेका थिए । तर छोराको चाहनाको सम्मान गर्दै स्वनिर्णयको अधिकार दिए उनले, छोराको लाहुरे बन्ने धोको पुरा गर्न । छोरा विदेश अध्ययन गर्दागर्दै फ्रेन्च लाहुरे भर्ती भए पछि भने रामकुमारको आशातित सपनालाई छोरीले पूरा गरिन् । चीनकाे लुजाे मेडिकल कलेजबाट एमबीबीएसको अध्ययन पूरा गरेपछि उनको सपना साकार भयो ।
त्यसो त सामाजिक चेतका धनी उनले शिक्षा र स्वास्थ्य सेवाबाट विमुख भएका दर्जनौं बालबालिकाको समेत अभिभावकत्व ग्रहण गर्दै आएका छन् । मुलतःजीवन संगीनीको साथले हरेक परिवर्तनलाई अवसरको रूपमा सिर्जना गर्न सफल भएको उनको कथन छ।
एक सन्दर्भमा पंक्तिकारसँगको संवादका क्रममा जीवनको सुखानुभुति केमा मिलेको छ भन्ने प्रश्नको प्रतिउत्तरमा उनले सामाजिक हुनुका साथै समाजप्रतिको सेवाभावले कृयाशिल हुनुमा जति सौभाग्य अरु क्षेत्रमा नमिल्ने अर्थ्याए।रामकुमारले अधिकांश युरोपेली र समृद्ध मुलुक घुमेका छन्।विश्वलाई चक्कर लगाउदै जाँदा होस् वा स्वदेशमा आफ्नो कर्ममा सकृय रहदै गर्दाको क्षण थुप्रै विदेशीले आफुसँगै बस्ने गरि आफनै राष्ट्रमा बसाई सर्न आग्रह गरे,कम्तीमा एक दुई पुस्ता सुतेरै खान पुग्ने धन सम्पत्तिको मालिक बनाउने बाचा दिए, तर उनी लोभलालचमा फसेनन्।आफ्नै जन्मभुमिलाईप्राथमिकतामा राखे,प्रलोभनका पछाडी कहिल्यै कुदेनन्। बाल्यकाल देखि अंगाल्दै आएको आफ्नो कर्मक्षेत्रलाई न त भुल्नै सके न त छाडन।भरियाबाट शुरु भएको उनको यात्रा कुक र गाईड हुँदै ट्रेकिङ कम्पनीको मालिकसम्म पुगेको छ।जीवनको अबोध काल र अधिकांश उर्वर समय भारी बोकेरै गुजारेका रामकुमारको मेहनत, पेशागत अब्बलता र सहृदयीपनाका कारण धेरैको प्रिय मात्रै भएनन् उत्कट रोजाईमा पनि परे।फलत:उनले सफलताको शिखर चुम्दै गए ।
ट्रेकिङका सम्झनाहरु पुस्तक उनै रामकुमारको सुख दु:खको पन्तुरो खोल्ने एक सहारा हो । त्यसो त यस पुस्तक संस्मरण मात्रै नभई पर्यावरण र पर्यटनलाई जोड्ने, जोडाउने र हिडाउने ताकत बोकेको जीवन्त दस्तावेज पनि हो । पुस्तकले निसंदेह गरिब मजदुरका जीवनका संघर्षका गाथाहरुलाई एकातिर समेटिएको छ भने अर्कोतिर पर्यटन क्षेत्रको मौलिकता झल्काएको छ।
पुस्तकको भाव,शैली र प्रस्तुति बडाे गज्जबको छ । किताब खोलेर पढ्दै जाँदा पाठक स्वयंले देश देशावर घुमेको भान हुन्छ भन्नेमा कुनै दुविधा छैन अर्थात पुस्तकले एउटा लय समातेर बगेको छ।ट्रेकिङका सम्झनाहरु पुस्तकमा सुन्दर पदमार्गको उत्कृष्ट बयानसँगै हिमालय क्षेत्रकाे पर्यावरणको मनमोहक दृश्यलाई कल्पनामा उतार्दा पाठक आफै यात्राको रोमाञ्चकतामा लीन हुन पुगेको आवास हुन्छ।यसलाई पल्टाउदै जाँदा प्रकृतिसँग, देशको भुगोलसँग,विदेशी मनहरुसँग आँफै अन्तरङ्ग गरे जस्तो अनुभुति यसले दिलाउँदछ ।
लेखक तामाङलाई पुस्तक तयारी क्रममा कोरोना लागेसँगै पहिलो लहरले ममतामयी आमालाई सदाका लागि धर्तीबाट बिदा लिएको संन्दर्भमा उनी भावुक भएका छन्। लेखकले आफ्नो पुस्तकमा समय वशमा नभएको तर्क पेश गर्दै पुस्तक प्रकाशनमा समयले नै जोड बल गरेको खुलाएका छन् ।
ट्रेकिङका सम्झनामा पर्यटनक्षेत्रमा सरोकार राख्ने पर्यटन ब्यावसायी,पथप्रदर्शक,पर्यटक तथा पर्यटन क्षेत्रप्रति चासो राख्नेहरुक लागि समेत पुस्तक अर्थपुर्ण बन्नेमा शंका गर्ने कुनै ठाउँ छैन।
रत्न कुमार तामाङ (रामकुमार) कृत “ट्रेकिङका सम्झनाहरु” पर्यावरण र पर्यटन सरोकारित संदेशमुलक पुस्तक त हुँदै हो,यसबाहेक पनि लेखक स्वयंको अनुभुति र अमूर्त यात्राको मार्ग पुस्तक पनि हो।पर्यटन क्षेत्रमा जीवन गुजारा गर्ने आम मजदुरहरुको साझा भावनालाईप्रतिबिम्बित गर्ने पुस्तक “ट्रेकिङका सम्झनाहरु” नेपालको पर्यटक साहित्यको नवीन आयाम हो भन्दा अत्युक्ति नहोला।
