
मर्स्याङदी समाचार, ७ बैशाख ।
जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधी सुन्दरबजार नगरपालिकाकाले जितेको छ । बेसीशहर नगरपालिका ७ सहजी खेल मैदानमा सोमवार सम्पन्न १२ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि स्तरिय खेलकुद छनौट प्रतियोगितामा १० स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै सुन्दरवजार नगरपालिकाकाले रनिङशिल्डको उपाधि हात पारेको हो ।
प्रतियोगितामा बेसीशहर नगरपालिका दोस्रो भएको छ । बेसीशहरले ८ स्वर्ण, ९ रजत र ४ कास्यपदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने राइनास नगरपालिकाले ६ स्वर्ण १० रजत र १६ कास्य हात पार्दै तृतिय स्थान हासिल गरेको छ ।
जिल्लाका आठ वटै स्थानिय तहको सहभागिता रहेको प्रतियोगितामा मध्यनेपाल नगरपालिकाले ४ स्वर्ण, ३ रजत र १३ कास्य जित्दै चौथो स्थान हासिल गरेको छ भने दोर्दी गाउँपालिकाले २ स्वर्ण, ४ रजत र २ कास्य जितेको छ ।
यसैगरी क्व्होलासोँथर गाउँपालिकाले २ स्वर्ण, एक रजत र ३ कास्य, मर्स्याङदी गाउँपालिकाले २ स्वर्ण र २ कास्य हात पारेको छ भने दुधपोखरी गाउँपालिकाले २ स्वर्ण र २ कास्य जितेको छ ।
शनिवार बाट सुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत एकसय, दुईसय, तिनसय, चारसय, आठसय, १५ सय र ३ हजार मिटर दौड, भलिभल, कराँते, हाईजम्प, लङजम्प त्रिपलजम्प, सटफूट लगायतका विभिन्न विधिका खेल छात्रछात्रा दुर्वतर्फ खेलाइएको थियो । प्रतियोगितामा आर्कषण मनिएको छात्रछात्रा भलिबल प्रतियोगितामा भने छात्रतर्फ राइनास नगपालिका र छात्रातर्फ बेसीशहर नगरपालिका विजेता वनेको छ । 
प्रतियोगिताको विजेता सुन्दरवजार नगरपालिकालाई रनिङशिल्ड, कप, मेडल प्रमाणप्रत्र प्रदान गरिएको छ । दोस्रो र तेस्रो स्थालन हासिल गरेको स्थानिय तहलाई ट्रफि, मेडल र प्रमाण पत्र सँगै पदक विजेता स्थानिय तहलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको समापन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पूर्णप्रसाद अधिकारीको अध्यक्षता एवं संविधान सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा भएको थियो । युवा समितिका अध्यक्ष जुन तामाङले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा सुन्दरवजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्र, विभिन्न स्थानिय तहका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमका अवसरमा जिल्लामा आगामी वर्ष सञ्चालन हुने १३ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पूर्णप्रसाद अधिकारीले सुन्दरवजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रलाई झण्डा हस्तान्तरण गर्नुभएको थियो ।
