Fast Nepal News

महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती वन क्षेत्रमा नयाँ वर्षको चहलपहल शुरु

banner single news

महोत्तरी – चैत ३१

महोत्तरी, नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती वनक्षेत्रमा निकै चहलपहल बढेको छ । नयाँ वर्षमा वनभोज (पिकनिक) र नाचगान मनोरञ्जन गर्न वनक्षेत्र रोजाइँमा परेपछि एक दिन पहिले नै ठाउँ खोज्नेको सघन आवागमनले जिल्लाको उत्तरवर्ती वनक्षेत्रमा चहलपहल बढेको हो । नयाँ वर्ष २०७८ मा वनभोज आयोजन गर्न बर्दिबास नगरपालिकाभित्र वनभोजस्थल मानिएका कारे–भोगटे, पञ्चधुरा माइस्थान परिसर, रातुपुल, कालापानी, बाँके, टुटेश्वरस्थान, राईमण्डल र रजवासमा टाढाटाढाबाट आएका युवा ठाउँ रोजेर सरसफाइ गर्ने र पाल टाङ्ने ठाउँ मिलाउन व्यस्त देखिएका छन् ।

पहिले आउने समूहले ठूलाठूला चउर र धार्मिकस्थल वरिपरीको क्षेत्र रोज्ने तथा पछि आउनेले खोल्साखोल्सीका ठाउँ छेक्न लागेका देखिँदो छ । वनभोज स्थलमा ठाउँ नपाएपछि भित्री वनक्षेत्रका चउर र खोल्साखोल्सीमा वनभोजका लागि सरसफाइ गरिन लागिएका छन् ।

बर्दिबास नगरपालिकामा पर्ने पहिलेदेखिकै वनभोज स्थल र नयाँ छेकिएका ठाउँसमेत गरी ३०० भन्दा बढी समूहले ठाउँ छेकिसकेको पानीखोल्सी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेले बताए । बर्दिवास नगरपालिका क्षेत्रका यी ठाउँ नयाँ वर्षमात्र नभएर अरु अवसरमा पनि आयोजना गरिने वनभोज कार्यक्रमका लागि छनोटमा पर्ने गरेका छन् ।

वनभोजका लागि ठाउँ छनोटमा तल्लीन भएका युवाले बर्दिबास नगरपालिका क्षेत्रका यी ठाउँमा खाना पकाउन दाउरा प्रशस्त पाइने, पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गसँगै जोडिएकाले यातायात सहजता, प्राकृतिक सौन्दर्य र नदी नाला तथा ठाउँठाउँमा मनोरम छाँगा देखिने हुँदा रोजाइँमा पर्ने गरेका जिल्ला सदरमुकाम जलेश्वरबाट वनभोजको तयारीका लागि ठाउँ छनोट गर्न बाँके वनक्षेत्र आइपुगेको युवा टोलीका अगुवा विजयकुमार सिंहले बताए ।

Inside Article Ads

खासखास अवसरमा वनभोजका लागि यी ठाउँ आम रोजाइँमा पर्ने गरे पनि नगरपालिकाले वनभोजस्थलको योजनाबद्ध विकासका लागि चासो नै नदिएको गुनासो बढ्दो छ । नगरपालिका क्षेत्रका वनभोजस्थललाई व्यवस्थित गरे ठाउँको सौन्दर्य वृद्धि हुनुका साथै सःशुल्क ठाउँ दिने परिपाटी बसाउन सके नियमित आम्दानीको स्रोतसमेत बन्ने कुरालाई नगरपालिका नेतृत्वले बुझ्न आवश्यक रहेको बर्दिबास–१ की बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता प्रतिमा कोइरालाले बताए ।

नगरक्षेत्रका टुटेश्वरधाम, पञ्चधुरा माइस्थान, राईमण्डल, कालापानी स्मृतिपार्क र पाटु नजिकैका कारे–भोगटे पुल क्षेत्र मुख्य रोजाइँका वनभोजस्थल हुन् । यी बाहेक रातु पुल, खयरमारा वनक्षेत्र, गौरीडाँडास्थित स्मृतिपार्क र पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फका वन क्षेत्रभित्रका नदी तट वनभोज गर्नेको रोजाइँमा पर्ने गरेको देखिएको छ ।

यी ठाउँलाई ‘वनभोजस्पट’ का रुपमा विकास गर्न योजनावद्ध रुपमा लागिएको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताए । “हामीले पर्यटकीय महत्वका धार्मिकस्थल तथा वनभोजस्थलहरुको सौन्दर्य वृद्धि र विकासका लागि योजनावद्ध काम थालेका छौं”, उनले भने, “यस क्रममा कतिपय स्थानको डिपिआर ९विस्तृत योजना प्रतिवेदन० बनेका छन्, कति बन्ने क्रममा छन् ।” बनेका प्रतिवेदनअनुसार काममा लागिने नगरप्रमुख कार्कीको भनाइ छ । रासस

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.