Fast Nepal News

बगाले बगेडी चराको संरक्षणप्रति सरोकारवालाको चासो

banner single news

पोखरा – चैत ३१

पोखरा, पोखरा पक्षी समाज र नेपाल पक्षी संरक्षण सङ्घको संयुक्त आयोजनामा पोखरामा आयोजित बगाले बगेडी चरा संरक्षणमा सरोकारवालाबीचको अन्तक्र्रियामा सहभागीले चिन्ता र चासो व्यक्त गरेका हुन् । प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा सङ्कटापन्न अवस्थामा पुगेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अन्तक्र्रियामा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ एवं गिद्ध विशेषज्ञ समूहका सदस्य कृष्ण भुषालले बगाले बगेडी भँगेरा आकारको रङ्गीन र आकर्षक चरा भएको जानकारी दिए ।

उनका अनुसार विशेषतः जाडोयाममा रुस, मङ्गोलिया, चीनलगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्दछ । पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी शिकार गर्ने थालेपछि अहिले यो चरा विश्वमै अतिसङ्कटापन्न अवस्थामा पुगेको छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ । बर्डलाइफ इन्टरनेशनलका अनुसार त्यही फेस्टिभलका बेला एक वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको शिकार हुने गरेको तथ्याङ्कले देखाएको छ ।

उत्तरी भूगोलमा प्रजनन गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एशियाली मुलुकतिर जाडो छल्न आउने गरेको उनको भनाइ छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले वातावरण जोगाउन सके चराचुरुङ्गीको बासस्थान जोगाउन सकिने बताए ।

“वातावरणका बारेमा साझा चासो र चिन्ता आवश्यक छ, वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन यो सबैको साझा दायित्व हो”, ढकालले भने । उनले तालतलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिदै जाँदा बासस्थान विनाश र अव्यवस्थितरूपमा विषादीको प्रयोगलगायतका कारणाले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पारेको बताए।

Inside Article Ads

बर्ड एजुकेशन सोसाइटीका चितवनका अध्यक्ष रमेश चौधरीले नेपालमा ८८६ प्रजातिका चरा अभिलेखीकरण भएको जानकारी दिए । उनका अनुसार विश्वमा ११ हजार २२५ प्रजातिका पक्षी छन् । नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी नौ प्रजातिका पक्षीलाई संरक्षित पक्षी भनी घोषणा गरिएको छ । काँडे भ्याकुर नेपालमा मात्र पाइने पक्षी हो ।

ग्रिष्म ऋतुमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १५२ प्रजातिका पक्षी जाडो छल्न आउने गर्दछन् । त्यसैगरी ५० प्रजातिका चरा बटुवाका रूपमा आउने गरेको अभिलेख रहेको छ भने ७९ प्रजातिका चरा भने फिरेन्तरूपमा देखिने गरेका छन् । नेपालमा आठ प्रजातिको चरा लोप भइसकेको आशङ्का गरिएको छ । पोखरामा ४७२ प्रजाति र चितवनमा ६९७ प्रजातिका चरा रहेको विज्ञको भनाइ छ ।

नेपाल पक्षी संरक्षण सङ्घका कार्यक्रम संयोजक मित्र पाण्डेले सन् २००४ देखि २०१७ सम्म तथ्याङ्कलाई विश्लेषण गर्दै २०१७ मा आइपुग्दा बगाले बगेडी अतिसङ्कटापन्न अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिए ।

पोखरा पक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले पोखरा नौ तालको शहर भएकाले यस क्षेत्रमा उक्त चराका लागि उपयुक्त बासस्थान भए पनि चोरीशिकारी, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन दर घट्दै गएको बताए । घिमिरेले सानो चराले बर्सेनि गर्ने हजारौँ किलोमिटरको साहसिक र जोखिमपूर्ण यात्रा आफैँमा रोमाञ्चक रहेको जनाउँदै संरक्षणमा अन्तरदेशीय समन्वय र सहकार्यको खाँचोसमेत औँल्याए । रासस

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.