
सुमित्रा भुजेल
पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिकामा पर्ने नौथरशेरा–ताँजे सडक बुधबारदेखि कालोपत्रे शुरु गरिएको छ । एक करोड रुपैयाँ लागतमा यस सडकखण्ड अन्तर्गत ५ सय ५० मिटर सडक कालोपत्रे गर्न लागिएको गाउँपालिका अध्यक्ष ओमलाल गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, आजदेखि कालोपत्रे शुरु भएसँगै यस सडकमा यातयात सहज हुनेछ । निर्माणाधीन अवस्थामा रहेको यस सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा रहेकाले कालोपत्रे गर्नका लागि गाउँपालिकाले गत सोमबार एक सूचना प्रकाशित गर्दै फागुन १९ गतेदेखि चैत ९ गतेसम्म २० दिन उक्त सडकखण्ड बन्द रहने जनाएको थियो । सो गाउँपालिकाको निर्णय अनुसार नै यस सडक उक्त मितिसम्मका लागि यस सडकखण्डमा यातयात सञ्चालन बन्द गर्दै कालोपत्रे शुरु गरेको गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ । विष्णुराधा विल्डर्सले सडक निर्माणको काम गर्दै आएको छ ।
यस निर्माण कम्पनीले विसं. २०७७ जेठ २८ गते निर्माण संझौता गरेर निर्माण कार्य थालिएको उक्त सडक खण्डको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । सडक कालोपत्रेका लागि आवश्यक निर्माण सामग्रीहरु आइसकेको निर्माण कंपनीले जनाएको छ । उक्त सडक कालोपत्रेका लागि यस गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड बजेट बिनियोजन गरेको छ । यस सडकखण्ड कालोपत्रे शुरु भएसँगै सडक आसआपसका स्थानीयहरु हर्षित भएका छन् ।
यस सडकमा वर्खायाममा हिलाम्मे तथा गर्मी याममा धुलाम्मे हुने गर्दा विभिन्न समस्याहरु झैल्दै आइरहेको थियो । कालोपत्रे सम्पन्न भएपछि भने, यहाँका स्थानीय देखि सवारी चालक तथा यात्रुहरुका लागि समेत सहज हुने भएको छ ।
