Fast Nepal News

विदेशबाट आइफोन पठाइदिने प्रलोभन देखाएर लाखौं ठगी

banner single news

विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको छ। उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो।

पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको टोखा बस्ने हरिप्रसाद बस्याल रहेको जनाइएको र उनलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको सिआइबीका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए। बस्यालसहितको टोलीले सामाजिक सञ्जालमार्फत बेलायतमा बसोबास गर्ने डाक्टर माइकल अलवर्ट भन्ने नामको फेसबुकमा साथी बनाई भाइबरबाट फोन आदानप्रदान गरी लोभमा पारेर रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

गिरोहले शुरुमा आइफोन पठाइदिने प्रलोभन देखाएको थियो। त्यसपछि बेलायतबाट विभिन्न उपहारका सामान पठाएको र उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भनेर आश्वासन दिएका थिए। लगत्तै भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई पटकपटक सम्पर्क गरी बेलायतबाट आएको पार्सल सामान भारतको दिल्लीमा आइपुगेको र त्यसमा बहुमूल्य सामानका साथै पाउण्डसमेत भएकाले भन्सार छुटाउन भन्दै पैसा माग गरेका थिए।

Inside Article Ads

उनीहरुले सामान छुटाउन नेपालस्थित एजेन्टको खातामा १० लाख ७० हजार रुपैयाँ माग गरेका थिए। गिरोहको निर्देशनमा पीडितले उक्त रकममध्ये पाँच लाख २० हजार रुपैयाँ गङ्गबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा पुगी बस्याललाई भेटेर दिएका थिए।

त्यसपछि पीडितले आफू ठगिएको थाहा पाई प्रहरीमा उजुरी दिएका र सोही उजुरीका आधारमा ठगी कार्यमा संलग्न उनलाई पक्राउ गरिएको थापाले जानकारी दिए। उनका अनुसार उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ। प्रहरीले उनको साथबाट एक लाख सात हजार नगद रुपैयाँसहित विभिन्न व्यक्तिको नाममा रकम जम्मा गरेको १० थान भौचरसमेत बरामद गरेको छ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.