
आज श्री विराट सनातनधर्मसंस्कृति विद्यापीठ (गुरुकुल),सिम्लेश्वर महादेवस्थान तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली,काठमाडौंले आठौं वार्षिकोत्सव तथा पुस्तक विमोचन ,२०७७ आयोजना गर्यो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाईकाजी तिवारीले पानसमा बत्ती बालेर गर्नुभएको थियो।
त्यस्तै,गुरु तिर्थप्रसाद ढकालले सरस्वतीको फोटोमा माल्यार्पण गर्नुभएको थियो।कार्यक्रममा गुरुकुलका बटुकहरुले वैदिक स्वस्ती वाचन गर्दा उपस्थित सबै नतमस्तक भएका थिए।बिशिष्ठ अतिथी,तार्केश्वर नगरप्रमुख रामेश्वर बोहोराले विधालयलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो।उहाँले गुरुकुलको भौतिक विकासका निम्ति अझ धेरै सहयोगको खाचो रहेको बताउनुभयो।
कार्यक्रममा विधालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मीराज चापागाईंले ३५ बटुक आवासिय रुपमा रहिआएका र उनिहरुलाई गुरुकुलिय वातावरणमा निशुल्क पठनपाठन गराईदै आएको बताउनुभयो । उहाँले अक्षय कोष स्थापना गरेर मन्दिर निर्माण, अतिथी गृह लगायतका कार्यमा योगदान दिन जरुरी रहेको औल्याउँदै कोषका निम्ति आफ्नो व्यक्तिगत तर्फबाट नगद रु एक लाख दिने घोषणा गर्नुभयो।
कार्यक्रममा गुरु तिर्थप्रसाद ढकालको ‘नीति ज्ञान पुस्तक’ विमोचन गरियो।पुस्तकको बारेमा बोल्दै ढकालले,’ मानिसको जन्म नै दुर्बल रहेको, अन्य प्राणी भन्दा मानिसमा बेग्लै क्षमता हुने र विवेक प्रयोग गरेर आफ्नो अस्तित्व जोगाउन लाग्नुपर्नेु ‘बताउनुभयो। प्रमुख अतिथी भाईकाजी तिवारीले आफ्नो ठाउँबाट गुरुकुलको भौतिक संरचना निर्माणमा योगदान दिन पाँउदा अत्यन्त गौरव लागेको बताउनुभयो।कार्यक्रममा विधापिठको संरक्षण, सम्बर्द्धन र विकासमा सहयोग पुर्याउनुहुने विभिन्न सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो।

