
भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ। कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा मंगलबार पहिरो गएको हो। पहिरोका कारण महाकाली नदी थुनिएको हुन सक्ने आसंखा गरिएको छ।
पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुङ्गा माटो हटाउने कार्य गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। ‘पहिरो पन्छ्याउने काम भइरहेको छ’, उनले भने, ‘धेरै खतराको अवस्था छैन। हिउँदेयाम भएको र अहिले वर्षा र हिमपात नभएको कारण खतरा छैन।’ पहिरोको अवस्था बुझ्न प्रहरीचौकी दुम्लीङबाट टोली खटिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख भास्कर चन्दले बताए।
यहाँबाट प्रहरी टोली पुग्न पाँच÷छ घण्टा बढी समय लाग्छ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी नगर्दै कञ्चनपुर जिल्ला प्रशासनले सीमा क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। नदी थुनिएको र छेउछाउका बस्तीमा खतरा हुनसक्ने भन्दै सावधानी अपनाउन कञ्चनपुर प्रशासनले सम्बन्धीत सबैमा आग्रह गरेको हो।
