Fast Nepal News

दुई दशकको यात्रा — समयले अझ स्पष्ट बनाएको मेरो विश्वास

banner single news

राजु भट्टराई
दुई दशकभन्दा लामो यात्रालाई फर्केर हेर्दा, समयसँगै धेरै मानिस, परिस्थिति, सम्बन्ध र अनुभवहरू जोडिँदै गए । केही सम्बन्धहरू यात्राका सहयात्री बने, केही अनुभवहरूले धेरै कुरा सिकाए, र केही परिस्थितिले आफ्नै बाटो अझ स्पष्ट बनाउँदै लगे ।
यति लामो यात्रामा व्यक्तिगत स्वार्थ, लाभ, लोभ वा लालचका लागि सम्बन्ध र मानिसलाई प्रयोग गर्ने सोच कहिल्यै प्राथमिकतामा परेन । पद र प्रतिष्ठा पनि जीवनका एउटा हिस्सा हुन सक्छन्। यदि तिनकै पछाडि दौडिएको भए सायद धेरै परिचय र पदहरू प्राप्त हुन्थे होलान् । तर त्यसका लागि आफ्नो विचार, विश्वास र संकल्पलाई कमजोर बनाउने कुरा स्वीकार्य भएन ।
समाज, नागरिक र विद्यार्थीको हितमा काम गर्ने व्यक्ति, संस्था, सरकार वा राजनीतिक शक्तिसँग सहकार्य र समर्थन रहनु स्वाभाविक हो । समर्थन कुनै झण्डाप्रतिको प्रतिबद्धता होइन; सही काम र सही उद्देश्यप्रतिको समर्थन हो । जहाँ सकारात्मक प्रयास देखिन्छ, त्यहाँ साथ र सहकार्य सँधै रह्यो; जहाँ विकृति, विसंगति वा गलत प्रवृत्ति देखिन्छ, त्यहाँ प्रश्न उठाउने र सुधारका लागि आफ्नो ठाउँबाट आवाज उठिरह्यो सोहि अनुसार भविष्यमा जारी रहन्छ ।
यसका लागि कुनै राजनीतिक दलको झण्डा बोक्नैपर्छ भन्ने छैन, कुनै पद प्राप्त गर्नैपर्छ भन्ने पनि छैन । समाजप्रतिको जिम्मेवारी पदले होइन, विचार र कर्मले प्रमाणित गर्छ ।
यो यात्रा सधैँ सहज थिएन । आफ्नै परिश्रममा विश्वास गर्दै, सकेसम्म सिधा बाटो रोजेर अघि बढ्ने प्रयास रह्यो । सबैको अपेक्षाअनुसार आफूलाई प्रस्तुत गर्न सकिएन होला, कतिपय ठाउँमा कसैको मन बुझ्न नसकिएको पनि हुन सक्छ । तर आफ्नो सोच, आत्मसम्मान र मूल्यमान्यतालाई समय र परिस्थितिअनुसार बदल्ने बाटो कहिल्यै रोजिएन ।
शिक्षा क्षेत्रमा काम गर्दै जाँदा एउटा कुरा अझ गहिरोसँग महसुस भएको छ—शिक्षा केवल संस्था सञ्चालन गर्ने विषय होइन, यो विद्यार्थीको भविष्य र समाजको दिशासँग जोडिएको जिम्मेवारी हो । यही सोचका कारण विद्यार्थीको हकहित, शिक्षाको गुणस्तर, संस्थागत पारदर्शिता र शिक्षाभित्र देखिने विकृति तथा विसंगतिका विषयमा आफ्ना आवाजहरू निरन्तर राखिँदै आएका छन् । विद्यार्थीको भविष्यसँग जोडिएको विषयमा बोल्दा व्यक्तिगत लाभभन्दा माथि उठेर विषयको गम्भीरता र दीर्घकालीन प्रभावलाई हेर्ने प्रयास सधैँ रह्यो ।
जानेका कुरा अरूसँग बाँड्दै, नजानेका कुरा अरूबाट सिक्दै गएँ । जीवन र यात्राले सिकाएका कुराहरूलाई अनुभवका रूपमा स्वीकार गर्ने क्रम निरन्तर रह्यो । विगतमा कमजोरी भएका हुन सक्छन; ती सबैप्रति पश्चात्ताप मात्र होइन, जहाँ आवश्यक छ त्यहाँ सुधार र प्रायश्चित गर्ने भावनाले नै अगाडि बढ्न सिकायो ।
दुई दशकको यो यात्राले एउटा कुरा अझ बलियो बनाएको छ—
आफ्नो स्वार्थभन्दा माथि उठेर सही कुराको पक्षमा उभिन सक्नु, आफ्नो विचार बोल्न सक्नु र समयले जति परीक्षा लिए पनि आफ्नो संकल्पलाई जोगाइराख्नु नै वास्तविक उपलब्धि रहेछ ।

आगामी दिनमा पनि शिक्षा, विद्यार्थी, समाज र सकारात्मक परिवर्तनसँग जोडिएका विषयमा आफ्नो आवाज र अनुभव जहाँ आवश्यक पर्छ, त्यहाँ प्रस्तुत भइरहनेछ ।

Inside Article Ads

समय धेरै बितिसक्यो, तर यात्रा अझै बाँकी छ ।
बाटो उही छ-सिधा ।
सोच उही छ-स्वच्छ ।
र विश्वास उही छ-आफ्नै सिद्धान्तप्रति ।

Visited 10 times, 10 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.