Fast Nepal News

सांगीतिक साँझ सफल बनाउन लमजुङका संघसंस्थाको सामूहिक प्रतिबद्धता

banner single news

सुमित्रा भुजेल
लमजुङ, साउन ३० गते । लमजुङ सदरमुकाम बेँसीसहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक साँझ–२०८३’ लाई सफल बनाउन जिल्लाका विभिन्न संघसंस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको आयोजनामा हुने सांगीतिक साँझबारे शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधिले कार्यक्रमलाई जिल्लाकै साझा सांस्कृतिक अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्यक्रममा बेँसीसहर नगरपालिका–२ का वडाध्यक्ष मदनबहादुर राना, वडा नं. ८ का वडाध्यक्ष पवित्रा थापा राना, नगर कार्यपालिका सदस्य कल्पना थापा बोहरा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समिति लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछाने, ठाडो भाका लोक कला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाडीलगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यस्तै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङका सचिव गणेश गुरुङ, नेपाल तामाङ घेदुङ बेँसीसहरका अध्यक्ष होमलाल तामाङ, महिला घेदुङकी अध्यक्ष हस्माया तामाङ, नगर महिला सञ्जाल बेँसीसहरकी अध्यक्ष मीना बस्नेत रावल, महिला सञ्जाल वडा नं. १० की अध्यक्ष सूर्यकला थापा, तमु कल्याण समाज आमा समूहकी अध्यक्ष खिमा गुरुङ, प्रकृति नारी समाजकी पूर्वअध्यक्ष कमला केसी तथा फूलबारी दिदीबहिनी समूहकी अध्यक्ष खातुन मियालगायतको सहभागिता थियो।

कार्यक्रम संयोजक अनुज अधिकारीले सांगीतिक साँझको उद्देश्य, तयारी र अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी लमजुङको कला, संस्कृति र मौलिकताको उत्सवका रूपमा अघि बढाउन लागिएको बताए।

उनका अनुसार नेपाली लोक तथा दोहोरी गीत–संगीतको संरक्षण, प्रवर्द्धन र विकाससँगै अग्रज कलाकारको सम्मान तथा कलाकार कल्याणका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रमबाट बचत हुने रकमबाट राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लमजुङको मातहतमा कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको छ।

को हुन् माया गुरुङ ?

वि.सं. २०२० असार २९ गते लमजुङको बेँसीसहर नगरपालिका–५, नाल्मामा जन्मिएकी वरिष्ठ लोकगायिका माया गुरुङको वास्तविक नाम देवीमाया थापा गुरुङ हो। वि.सं. २०४० को दशकदेखि नेपाली लोकसंगीतमा निरन्तर योगदान दिँदै आएकी गुरुङ ‘गाउँशहरमा लमजुङ दरबार’ लगायतका गीतमार्फत राष्ट्रियस्तरमा परिचित छिन्।

‘सैलुङ डाँडा’, ‘डाँडैको देवी देउराली’, ‘दूधको भारा’, ‘सम्झनालाई जालै रुमाल’, ‘नाल्मा डाँडा गाउँ’, ‘फलेसाँघु बजार’, ‘आइदेऊ सुखी–लाइदेऊ पिरती’, ‘खोली रसाएको’ लगायत उनका गीत लोकप्रिय छन्।

Inside Article Ads

वि.सं. २०४५ मा रेडियो नेपालले आयोजना गरेको अञ्चलव्यापी खुला लोकगीत प्रतियोगितामा प्रथम हुँदै उनले स्वर्ण पदक प्राप्त गरेकी थिइन्।

रेडियो नेपालबाट विशिष्ट श्रेणीको कलाकार प्रमाणपत्र प्राप्त गरेकी गुरुङलाई ‘गाउँशहरमा लमजुङ दरबार’ गीतका लागि सदावहार स्रष्टा सम्मानसमेत प्रदान गरिएको थियो। वि.सं. २०७८ वैशाख १ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री चतुर्थबाट समेत सम्मानित भएकी थिइन्।

उनका करिब एक सयभन्दा बढी गीत तथा विभिन्न एल्बम प्रकाशित छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानले समेत उनको सांगीतिक योगदानको कदर गर्दै सम्मान गरिसकेको छ।

आयोजकले माया गुरुङको सम्मानमा आयोजना हुने सांगीतिक साँझमार्फत उनको लामो सांगीतिक यात्रालाई नयाँ पुस्तासँग जोड्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा देशभरका कलाकार, स्रष्टा, संगीतकर्मी, कला–संस्कृतिप्रेमी, स्थानीयवासी तथा लमजुङबाहिर रहेका शुभेच्छुकको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा करिब ५ हजार दर्शकको प्रत्यक्ष सहभागिता गराउने लक्ष्य राखिएको छ। वरिष्ठ लोकगायिका गुरुङले आफ्ना लोकप्रिय तथा कालजयी गीत प्रस्तुत गर्नेछिन् भने देशका विभिन्न स्थानबाट कलाकारहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रमलाई सञ्चारमाध्यम, एफएम रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार र प्रत्यक्ष प्रसारण गर्ने तयारी भइरहेको छ। कार्यक्रमले लमजुङलाई लोककला, लोकसंगीत तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ।

कार्यक्रम असोज १० गते शनिबार बेँसीसहरस्थित फूलबारी मञ्चमा अपराह्न ४ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा धन्यवाद ज्ञापन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङका अध्यक्ष प्रशान्त तामाङले गरेका थिए भने कार्यक्रमको सञ्चालन ‘माया गुरुङ सांगीतिक साँझ–२०८३’ सचिवालय संयोजक आश गुरुङले गरेका थिए।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.