
सावित्रा पौडेल पोखरेल
तनहुँ । नेपालको राजनीतिको नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले “जान्नेलाई छान्ने” नारा अघि सारेर राजनीतिको मैदानमा अगाडी बढेकोछ। यही नारासहित अगाडि बढेको रास्वपाले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाइ नजिकको परिणाम ल्याएसगै अब सरकार गठन र मन्त्री छनोटको विषयमा व्यापक बहस चलेको छ।
रास्वपाको वाचा–पत्रमा समेटिएका आर्थिक सुधार, पूर्वाधार विकास लगायतका महत्वाकांक्षी योजनाहरू कार्यान्वयन गर्न सक्षम र अनुभवी , विज्ञ व्यक्तिहरूलाई सरकारमा ल्याउनुपर्ने बहस पार्टीभित्र र बाहिर सुरु भएको छ। यही सन्दर्भमा तनहुँ जिल्लाबाट निर्वाचित दुई विज्ञ सांसद पार्टीका उपसभापति एवं वरिष्ठ अर्थविद् डा. स्वर्णिम वाग्ले र पार्टीका उर्जा तथा जलश्रोत विभाग प्रमुख एवं वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेलाई मन्त्री बनाउने सम्भावनाबारे चर्चा चलेको छ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित डा. वाग्ले लामो समयदेखि आर्थिक नीति र विकास योजनामा काम गर्दै आएका अनुभवी अर्थविद् हुन्। पार्टी सभापति रवि लामिछानेले उनलाई यसअघि नै “बजेट लेख्न शुरु गर्नुस् डाक्टरसाब् ” भनेबाट डा. वाग्ले अर्थमन्त्री बन्ने निश्चित भईसकेकोछ । आर्थिक सुधार, बजेट व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्बन्धमा डा. वाग्लेको अनुभव रास्वपा सरकारका लागि महत्वपूर्ण मानिएको छ।
यता तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित वरिष्ठ इन्जिनियर न्यौपाने उर्जा तथा जलश्रोत, पूर्वाधार र विकास निर्माण क्षेत्रमा दुई दशकभन्दा बढि अनुभव बोकेका विज्ञका रूपमा परिचित छन् । ऊर्जा, सडक र पूर्वाधार विकासका योजनाहरूलाई गति दिन रास्वपाले घोषणा गरेका, प्रधानमन्त्री बालेन्द्र शाहको स्पिड र स्पिरिटसग मेल खानसक्ने क्षमता भएका ईन्जिनियर न्यौपाने पनि मन्त्री बन्ने चर्चा चलेको छ ।
सरकारको नेतृत्व गर्ने बताइएका बालेन्द्र शाह ले पनि “स्पिड र स्पिरिट भएका विज्ञहरूलाई मन्त्रीपरिषद्मा ल्याउने” संकेत दिएका कारण तनहुँका यी दुई विज्ञलाई एकैपटक मन्त्रिपरिषद्मा समेट्ने सम्भावना बढेको विश्लेषण भइरहेको छ।
तर प्रश्न उठ्छ—के रास्वपाले एउटै जिल्लाबाट प्रतिनिधित्व गर्ने दुई जनालाई मन्त्री बनाउने निर्णय गर्छ ? नेपालमा मन्त्री चयन गर्दा प्रायः भौगोलिक सन्तुलनलाई प्राथमिकता दिइने परम्परा रहेको छ। यस्तो अवस्थामा एउटै जिल्लाबाट दुई मन्त्री बनाउने निर्णयले अन्य जिल्लाका सांसद र नेताहरूबीच असन्तुलनको बहस पनि निम्त्याउन सक्छ।
यद्यपि रास्वपाले आफूलाई परम्परागत राजनीतिक पार्टीहरुभन्दा फरक शैलीको पार्टी भनेर प्रस्तुत गर्दै आएको छ। यदि पार्टीले क्षमता, दक्षता र विज्ञतालाई नै मुख्य आधार बनायो भने तनहुँबाट डा. वाग्लेसगै इन्जिनियर न्यौपाने लाई मन्त्री बनाउने निर्णय पनि असम्भव नहुने विश्लेषकहरू बताउँछन्।
रास्वपाको वाचा–पत्रमा उल्लेखित जलविद्युत उत्पादन, आर्थिक सुधार, पूर्वाधार विस्तार र विकास निर्माणको गतिलाई तीव्र बनाउने लक्ष्य पूरा गर्न यी दुई विज्ञको सरकारमा उपस्थिति प्रभावकारी हुन सक्ने तर्क पनि धेरैको रहेको छ।
अब हेर्न बाँकी छ—“जान्नेलाई छान्ने” नारा बोकेको रास्वपाले मन्त्री चयन गर्दा भूगोललाई प्राथमिकता दिन्छ कि क्षमता, दक्षता र विज्ञतालाई ? तनहुँका यी दुई प्रतिनिधि—डा. स्वर्णिम वाग्लेसगै इन्जिनियर श्रीराम न्यौपाने—मन्त्रिपरिषद्मा पुग्छन् कि पुग्दैनन् ? भन्ने प्रश्नको जवाफ भने आगामी सरकार गठनसँगै स्पष्ट हुने छ । डा. वाग्ले र ईन्जिनियर न्यौपानेको सवालमा मात्र होईन अन्य विज्ञ सांसदहरुको सवालमा पनि उनीहरुलाई प्रदान गरिने जिम्मेवारीले रास्वपाको वाचा पत्रका वाचाहरु समयमा नै पुरा गर्न मद्दत पुग्नेछ । होइन क्षमता, दक्षता र विज्ञतालाई लत्याएर भौगोलिक सन्तुलनलाई कायम गरि मन्त्रीपरिषद्का सदस्यहरु छनोट गर्न लाग्यो भने वाचा पत्रका बाचाहरु पुरा गर्नु जान्नेलाई छान्ने नारा बोक्ने रास्वपाका लागि फलामका च्युरा चपाउनु सरह हुने पक्का छ ।
