
काठमाडौं । राजधानीमा पहिलो पटक नौ कुण्डिय गायत्री महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको छ । आइतबार विशेष कलश यात्रासहित सुरु गरिएको महायज्ञ काठमाडौं महानगरपालिका वडा नम्बर–३१ को कार्यालय प्राङ्गणमा भदौ २२ गतेसम्म सञ्चालन हुनेछ ।
गायत्री साधक एवम् प्रचारप्रसारक वेद प्रसाद भट्टका अनुसार नयाँ पुस्तालाई योग, ध्यान, यज्ञजस्ता आध्यात्मिक अभ्यासतर्फ आकर्षित गराउने र सकारात्मक उर्जा सिर्जना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । उनले भने, “नयाँ पुस्ताले शाकाहारी बन्नुपर्छ, आचरण सुधार्नुपर्छ, जीवनशैली व्यवस्थित गर्नुपर्छ र वातावरणलाई सफा राख्नुपर्छ भन्ने सन्देश महायज्ञमार्फत प्रवाह भइरहेको छ ।”
भट्टले नौ कुण्डिय महायज्ञले नौ ग्रहलाई व्यवस्थित गर्ने विश्वास समेत रहँदै आएको बताए ।
महोत्सव अन्तर्गत हरेक दिन बिहान ७ बजे पाठ परायण, दिनभर चरु हवन तथा यज्ञ, बेलुकी ४ः२५ देखि ५ बजेसम्म आरती हुने कार्यक्रम तय गरिएको छ । त्यस्तै, बिहान ७ः३० देखि ९ः३० बजेसम्म गायत्री यज्ञ सञ्चालन हुनेछ । मंगलबार (तेस्रो दिन) कोसेली स्कुलका ५० जना विद्यार्थीले महायज्ञमा सहभागिता जनाएका छन् ।
यसै क्रममा गायत्री हवनको आध्यात्मिक विज्ञान, योग, साधना, संस्कार तथा जीवन जिउने कलासम्बन्धी प्रवचन दिइनेछ भने राष्ट्रशान्ति, विश्वशान्ति र सम्पूर्ण नेपाली जनताको सुख, शान्ति तथा समृद्धिका लागि सुप्रसिद्ध भागवत गुरु मोहन अर्यालको मुखारविन्दुबाट कथा वाचन गरिने आयोजकले जानकारी दिएका छन् ।
