Fast Nepal News

काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बहादुर बुढा

banner single news

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त गरिएको छ ।
खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।
यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट थिए । यस सिजन लोकलाई नयाँ मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।
लोकले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ स्टाफको रुपमा रहेर समेत काम गरिसकेका छन् ।
लोकको प्रशिक्षण अनुभवले काठमाडौं स्पाइकर्सले राम्रो नतिजा हात पार्ने टिमको विश्वास छ । भलिबलप्रतिको उनको समर्पण, अनुभव र अनुशासनको कारण उनले फ्रेन्चाइज टिममा जिम्मेवारी पाएका हुन् ।
काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि लोकले आफ्नो जिम्मेवारी पूरा गर्ने र राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका छन् ।
उनले भने, ‘एभरेष्ट महिला भलिबल लिगको प्रशिक्षकमा नियुक्त हुँदा खुशी छु र काठमाडौंलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षकको रुपमा पहिले देखि काम गरिरहेको छु । राष्ट्रिय टिमको कोचिङ स्टाफ र विभागीय टिममा पनि प्रशिक्षक भएर काम गरिसकेको छु । अक्सनबाट खेलाडीहरु अनुबन्ध भइसकेको छ । अब छिटै विदेशी खेलाडीहरु पनि अनुबन्ध हुने चरणमा छ ।’ नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयर रहेको काठमाडौँ स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । यसअघि अक्सनबाट कबिता भट्टलाई अनुबन्ध गरेपनि उनी अष्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरिलाई राखिएको हो ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.