Fast Nepal News

मधुश्रावणी पूजनसहित मैथिल ब्राह्मण महासभाको २३औं वार्षिकोत्सव सम्पन्न​

banner single news

 

काठमाडौं, साउन ५ । पशुपतिनाथ मन्दिरको प्राङ्गणमा शनिवार (साउन ३ गते) मैथिल ब्राह्मण महासभाको २३औं वार्षिकोत्सव धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवका रूपमा भव्य रूपमा सम्पन्न भयो। महासभाको तर्फबाट आयोजित यस विशेष कार्यक्रममा सत्यनारायण भगवानको पूजा, वैदिक मन्त्र उच्चारणसहित, पूर्ण श्रद्धा र विधिपूर्वक सम्पन्न गरियो।

कार्यक्रमको प्रमुख आकर्षण बनेका थिए नवविवाहित महिलाहरू । मधुश्रावणी पूजनमा सहभागी धीयापुत्रीहरू परम्परागत मैथिली पहिरनमा सजिएर उपस्थिति जनाएका थिए। ती धीयाहरूलाई पारम्परिक चुनरी ओढाइ, सिन्दूर, खोंइछ, र सम्मानपत्र प्रदान गरी संस्कार र संस्कृति जगेर्ना गर्ने कार्यमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागी संस्कारशील धीयाहरूमध्ये सोनु झा, काजल मिश्र, सिम्पी ठाकुर, रचना चौधरी, र अन्य प्रतिभावान महिलाहरूको सहभागिता उल्लेखनीय रह्यो। उनीहरूलाई महासभाको तर्फबाट हार्दिक बधाई र उज्ज्वल भविष्यको शुभकामना प्रदान गरिएको थियो l

कार्यक्रमको सफल आयोजनाको नेतृत्व काठमाडौं मैथिल ब्राह्मण महासभाकी अध्यक्ष पुनम झाले गर्नुभएको थियो। यसकार्यक्रमको सुरुवात ३ बर्ष पहिले झा कै पहलमा भएको थियो । त्यसो त अध्यक्ष झाले कार्यक्रमको समापनमा मन्तव्य दिँदै भन्नुभयो, “२३ वर्षे गौरवपूर्ण यात्रामा आज हामीले आफ्नो संस्कृति, परम्परा र सामाजिक चेतनालाई अझ सशक्त बनाउने लक्ष्यसहित यो कार्यक्रम सम्पन्न गरेका छौं। समाजलाई एकतामा बाँध्ने उद्देश्यले गरिएको यो प्रयास आगामी पुस्ताको लागि प्रेरणाको स्रोत बन्न सकोस भन्ने हाम्रो विश्वास छ।”

Inside Article Ads

यस अवसरमा ‘सखी बहिनपा मैथिलानी समूह’ को उपस्थिति पनि विशेष रह्यो। समूहको अगुवाइमा सहभागी महिलाहरूलाई तेल, सिन्दूर, खोंइछ, र प्रसाद वितरण गर्दै प्रोत्साहन र सम्मान गरिएको थियो। महिलाहरूको सहभागिता र आत्मीयता यस कार्यक्रममा महत्वपूर्ण ऊर्जा र उल्लासको संचार गरेको देखिन्थ्यो।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मैथिली भजन, पारम्परिक नृत्य, र मैथिल संस्कृति विषयक वक्तव्य समेत राखिएको थियो। साथै, महासभाको आगामी वर्षको योजनाहरू पनि सार्वजनिक गरिएको थियो—जसअन्तर्गत शिक्षामा पहुँच, संस्कृतिको संरक्षण, महिला सशक्तीकरण, र धार्मिक गतिविधिहरूलाई अझ विस्तार गरिने योजना छ।

कार्यक्रममा वरिष्ठ समाजसेवी, पूजारी वर्ग, युवा प्रतिनिधि, महिला समूह, पत्रकार, तथा अतिथिहरूको उपस्थिति रहेको थियो। सम्पूर्ण सहभागीहरूलाई आयोजक पक्षले हार्दिक धन्यवाद ज्ञापन गर्दै, आगामी वर्षहरूमा अझ सशक्त र समृद्ध आयोजनाको प्रतिबद्धता व्यक्त गरेको थियो।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.