Fast Nepal News

खाँडादेवी गाउँपालिकाले ल्यायो झण्डैँ ६६ करोडको बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता

banner single news

रामेछाप । खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

बजेटले उत्पादनमुखी अर्थतन्त्र, पूर्वाधार विकास, शिक्षा सुधार र विपद् न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ। सोमबार सम्पन्न १७ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्ष रमा घिसिङले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हुन् ।

अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने, विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गर्ने, र सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसहित उत्कृष्ट शिक्षक र विद्यार्थीलाई प्रोत्साहन दिने कार्यक्रम समावेश छन्।

गाउँपालिकाले आगामी वर्षदेखि ‘एक वडा, एक कृषि उत्पादन’ अवधारणा लागू गर्ने भएको छ। यस अवधारणाअन्तर्गत प्रत्येक वडामा भूगोल र जलवायुअनुसार उपयुक्त कृषि उपजको पहिचान गरी उत्पादन प्रवद्र्धन गरिने छ। सुख्खा तथा भिरालो भू–भागमा फलफूल तथा अमिलो जातका बोटबिरुवाको खेती कार्यक्रम सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यस्तै रैथाने बाली संरक्षणका लागि बीउ पुँजी कोष स्थापना गरिने, स्थानीय जातको खुर्सानी खेती प्रवद्र्धन गरिने र जुस तथा वाइन उत्पादनका लागि आधुनिक प्रशोधन केन्द्र स्थापना गरिने कार्यक्रम ल्याइएको छ । यस्ता योजनाले गाउँपालिकालाई आत्मनिर्भर बनाउने दिशामा महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

कृषि उपजको बजार व्यवस्थापनसमेत यस वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ। खाँडादेवीमा उत्पादन हुने बालीको बजार विस्तारका लागि गाउँपालिकाभित्र र काठमाडौंमा ‘कोसेली घर’ स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यसले स्थानीय उत्पादनको मूल्यवृद्धि र रोजगारी सिर्जनामा योगदान गर्ने विश्वास गरिएको छ।

गाउँपालिकाले शिक्षा क्षेत्रमा पनि नयाँ कार्यक्रम ल्याएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयमा आकर्षित गर्न दिवा खाजा कार्यक्रम सञ्चालन गरिने भएको छ। यस्तै, उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई नगद वा अन्य माध्यमबाट प्रोत्साहन प्रदान गरिनेछ।

Inside Article Ads

शिक्षाको गुणस्तर सुधार गर्न पूर्वाधार निर्माणसहित अतिरिक्त कक्षा, पाठ्यक्रम सामग्रीको विकास, र नियमित अनुगमन कार्यक्रम सञ्चालन गरिनेछ।

युवामा सकारात्मक ऊर्जा विकास गर्ने उद्देश्यले गाउँपालिकाले जिल्ला स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यसले विद्यालयबिच आपसी प्रतिस्पर्धा र खेल क्षमताको विकास गर्न सहयोग पु¥याउने छ।

गाउँपालिकाले ग्रामीण सडक, खानेपानी, विद्युत्, स्वास्थ्य संस्था र विद्यालय भवनजस्ता भौतिक पूर्वाधार निर्माणलाई पनि बजेटको प्राथमिकतामा राखेको छ। विकास योजनाहरूलाई पारदर्शिता र समयानुकूलता दिँदै सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयन गरिने जनाइएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ६५ करोड ८४ लाख ८१ हजार १ सय ९५ रुपैयाँको बजेट प्रस्ताव गरेको छ। उपाध्यक्ष रमा घिसिङले बजेट प्रस्तुत गर्दै प्राथमिक क्षेत्रका रूपमा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई  समेटिएको जानकारी दिइन् ।

यस आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल २ सय ७५ वटा योजनामध्ये १ सय ७३ योजनाको भुक्तानी सम्पन्न भइसकेको छ भने ६२ योजना भुक्तानी प्रक्रियामा रहेका पनि उनले जानकारी दिइन् । अझै ४० योजना सम्झौताका लागि बाँकी रहेको उनले बताइन् । उपाध्यक्ष घिसिङका अनुसार यस आर्थिक वर्षका ९० प्रतिशत योजनाको सम्झौता सम्पन्न भइसकेको छ ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.