
राइनास, लमजुङ — बिनोद मजाकोटी
राइनास नगरपालिका–८, तार्कुघाटमा महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको १० दिने मादल तालिम सफलता पूर्वक सम्पन्न भएको छ। महिलाको आत्मनिर्भरता, सीप अभिवृद्धि र हराउँदै गएको लोकसंस्कृतिको संरक्षण गर्न उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो।
कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता तार्कुघाट सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष शर्मिला बोहरा थापाले गर्नुभएको थियो।
तालिमको प्रशिक्षण लोकवाद्यका अनुभवी प्रशिक्षक देवेन्द्र गुरुङले दिनुभएको हो। गुरुङ लामो समयदेखि लमजुङका विभिन्न स्थानहरूमा मादल तालिम सञ्चालन गर्दै आउनु भएको छ। तालिम अवधिभर सहभागी महिलाहरूले मादलको संरचना, धुन तथा तालहरूको अभ्यास गरेका थिए।
विशिष्ट अतिथिका रूपमा राइनास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव पूर्णबहादुर नेपाली सहभागी हुनुहुन्थ्यो।
अन्य अतिथिहरूमा वडा नं. ८ का अध्यक्ष कृष्णबहादुर रानाभाट, शिक्षा शाखाका स्रोत व्यक्ति कुमार न्यौपाने, नगरपालिकाका वरिष्ठ प्रशासन अधिकृत तुलबहादुर बिक,राइनास नगरपालिका योजना शाखा प्रमुख बिमला वाग्ले , कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर भुजेललगायत जनप्रतिनिधिहरूको उपस्थिति थियो।
प्रमुख अतिथि पौडेलले तालिम लिएका महिलाहरुलाइ प्रमाणपत्र दिदै महिलाहरूको क्षमता उजागर गर्दै मौलिक संस्कृति जगेर्नाका लागि यस्ता तालिमहरू आवश्यक रहेको बताउनुभयो।
प्रशिक्षक गुरुङले तालिमले महिलाहरूको आत्मविश्वास र आयआर्जन क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम अध्यक्ष शर्मिला बोहरा थापाले १० दिने तालिमले आधार तयार गरे पनि पूर्ण दक्षताका लागि थप प्रशिक्षण आवश्यक रहेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहभागी महिलाहरूको तर्फबाट सरस्वती खनियाले तालिमले महिलाहरूलाई सांस्कृतिक कार्यक्रमहरूमा मादल बजाउन सक्षम बनाएको बताउँदै अब पुरुषको भर नपर्नुपर्ने धारणा राखिन्।
तालिममा वडा अन्तर्गतका २० वटा समूहबाट प्रतिनिधित्व गर्दै २० महिलाहरूको सक्रिय सहभागिता थियो।
समापन कार्यक्रमको सञ्चालन मिना धमलाले गर्नुभएको थियो।
