Fast Nepal News

प्रधानमन्त्री सामु श्रमिक बालबालिकाको मार्मिक अपिल, ओली बने भावुक

banner single news

 

काठमाडौँ, २०८२ जेठ २९ । बालश्रमविरुद्ध विश्व दिवसको अवसरमा श्रमिक बालबालिकाहरूले

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी आफूहरूको पीडा, अनुभव र मागहरू राखेका छन। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा उनीहरूले व्यक्तिगत रूपमा लेखिएका चिठीहरू हस्तान्तरण गर्दै बालश्रम अन्त्यका लागि संवेदनशील र ठोस कदम चाल्न प्रधानमन्त्रीसँग भावुक अपिल गरेका हुन।

कार्यक्रममा सहभागी श्रमिक बालबालिकाले आफूहरू जीवनको उज्यालो बाल्यकाल गुमाएर कसरी श्रममा होमिनुपरेको छ भन्ने आफ्ना कथा प्रस्तुत गरे। उनीहरूले संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वास्थ्य, आवास, न्याय, सम्मानजनक जीवन, यातना तथा शोषणविरुद्धका सबै अधिकार आफूहरूले गुमाएको गुनासो गरे।

बालबालिकाले लेखेका १९ वटा चिठीहरू प्रधानमन्त्रीलाई हस्तान्तरण गरिए, जसमा व्यक्तिगत पीडा र भविष्यप्रति आशा झल्किएका थिए। “कोही इँटाभट्टामा श्रम गरिरहेका छन भने कोही होटल र रेस्टुरेन्टमा भाँडा माझ्दै, कोही घरमै घरेलु काममा खटिँदै जीवन गुजारिरहेका छन। हामीलाई प्रिय छोराछोरी भनेर सम्बोधन त गरिन्छ, तर त्यो सम्बोधन हामीसम्म आइपुगेको अनुभूति भएको छैन,” बालबालिकाको भनाइ थियो। “हामी कसरी देशको भविष्य बन्न सक्छौं, जब हाम्रो वर्तमान नै हिंसा, आँसु र श्रमको अँध्यारोमा हराइरहेको छ?”

चिठीहरूमार्फत बालबालिकाले प्रमुख मागहरू पनि प्रस्तुत गरे, जसमा समावेश थिए– बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ को संघीय संरचनाअनुसार संशोधन, निकृष्ट बालश्रमको स्पष्ट परिभाषा, स्थानीय तहमा अनुगमन र न्यायिक संयन्त्रको व्यवस्था, उद्धार र पुनर्स्थापनाका लागि विशेष कार्यक्रम, १०४ र १०९८ सेवा सातै प्रदेश र प्रत्येक जिल्लामा विस्तार, बाल यौन शोषणमा संलग्नलाई आजीवन कारावासको कानुन, घर-घरमा पुग्ने अभियान, अभिभावक सशक्तीकरण, “एक बालबालक, एक सीप” अभियान, र बाल सहभागिताको सुनिश्चितता।

बालबालिकाका मर्मस्पर्शी प्रस्तुति र चिठीहरूको सारांश सुनेपछि प्रधानमन्त्री ओली निकै भावुक बने। मन्तव्य दिनुअघि करिब दुई मिनेटसम्म मौन बसेका ओलीले आफू बालबालिकाको पीडा हेर्न त के, सुन्न पनि नसक्ने भाव प्रकट गरे। आफूलाई सम्हाल्दै उनले भने, “यी कथा र पीडा केवल कागजका अक्षर होइनन्, यी त मुटु चिर्ने र आत्मा झस्काउने यथार्थ हुन।”

Inside Article Ads

प्रधानमन्त्री ओलीले देशमा बालश्रमको कारण दीर्घकालीन सामन्ती संरचना, गरिबी र असमानता रहेको उल्लेख गर्दै हाल त्यसको अन्त्यतर्फ अग्रसर हुँदै गरेको बताए। उनले विगतमा बालबालिकाको अभिभावकसमेतले कार्यकारी प्रमुखलाई भेट्न नसक्ने अवस्था रहेको स्मरण गर्दै अहिले त्यो अवस्था फेरिएको बताए। प्रधानमन्त्रीले कार्यक्रमभरी “प्रिय छोराछोरी” भनेर बालबालिकालाई सम्बोधन गर्दा हलमा तालीको गडगडाहट गुन्जिएको थियो।

कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी र देशकी प्रथम महिला राधिका शाक्य पनि सहभागी थीन। प्रधानमन्त्रीले आफ्नी धर्मपत्नी स्वयं बाल्यकालमा क्युरियो सामग्री बनाउँदै श्रम गरेर हुर्किएको प्रसङ्ग उल्लेख गर्दै बालश्रमको पीडा आफू नजिकबाट जानकार रहेको बताए। “श्रमको नाममा मासूम बाल्यकाल जलाउने व्यवस्था सह्य छैन,” उनले भावुक हुँदै भने।

बालबालिकाको उद्धार र पुनर्स्थापनाको सन्दर्भमा प्रधानमन्त्रीले सरोकारवाला निकायहरूलाई गहिरो सोच र दीर्घकालीन समाधानमा केन्द्रित हुन आग्रह गरे। “उद्धारको नाममा बालबालिकालाई उचित शिक्षा, संरक्षण र पुनर्स्थापना बिना झन जोखिमपूर्ण काममा पठाउनु हुँदैन,” उनले चेतावनी दिए।

सिविस (च्वीश्) को समन्वयमा आयोजित उक्त कार्यक्रममा बाल अधिकारकर्मी विमला ज्ञवाली लगायतले बालश्रमको समस्या र समाधानका लागि भइरहेका पहलबारे जानकारी दिए। कार्यक्रममा श्रमिक बालबालिका, बाल अधिकारकर्मी, बालबालिकाको क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी, सरोकारवाला संघसंस्था र विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य बालबालिकाको आवाज प्रधानमन्त्रीसम्म पुर्‍याउनु र उनीहरूको जीवन, शिक्षा, सुरक्षा तथा भविष्य सुनिश्चित गर्न नीति निर्माणतर्फ सरकारको ध्यानाकर्षण गराउनु रहेको थियो। सिविसका एड्भोकेसी एडभाइजर युवराज घिमिरेका अनुसार, बालबालिकाको सक्रिय सहभागितामा सञ्चालित यो भेटघाट कार्यक्रम विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना गरिएको हो।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.