
सुबास मजाकोटी/लमजुङ
राइनास बहु प्राविधिक शिक्षालयमा विगत चार वर्ष देखि फरेस्ट्री कार्यक्रमका समन्वयकको रूपमा निष्ठापूर्वक सेवा पुर्याउँदै आउनुभएका सरोज घिमिरेलाई शिक्षालयले एक समारोहका बीच सम्मानपूर्वक बिदाइ गरेको छ।
शिक्षालय स्थापनाको दिनदेखि नै कोडिनेटरको जिम्मेवारी सम्हाल्दै, उहाँले संस्थाको प्रगति यात्रामा अमूल्य योगदान दिनुभएको थियो । उहाँको कार्यशैली मात्र होइन, विनम्र व्यवहार, सरलता, र अध्यापनको सजीव ढंगले विद्यार्थीहरू बीच उहाँ एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित हुनु भएको थियो।
विद्यार्थीहरूका लागि घिमिरे केवल शिक्षक मात्र होइनन्—मार्गदर्शक, अभिभावक र प्रेरणाको स्रोत हुनुहुन्थ्यो। उहाँको प्रत्येक कक्षा शब्दहरू मात्र होइन, अनुभव र ऊर्जा बाँड्ने थलोजस्तै बन्ने गर्थ्यो।
यसै कारण, जब बिदाइको खबर आयो, शिक्षालयमा एक अदृश्य सूनापन फैलिएको अनुभूति भयो। बिदाइ कार्यक्रममा शिक्षक, कर्मचारी, र विद्यार्थीहरू सबैको आँखामा अप्ठ्यारो नमिलाउने आँसु झल्किरहेको थियो।
उच्च शिक्षाको आकांक्षा लिएर घिमिरे अब छात्रवृत्तिसहित जर्मनीको यात्रा तय गर्दै हुनुहुन्छ। उहाँको यो नयाँ अध्यायको आरम्भलाई शिक्षालयले गौरवको रूपमा लिएको छ।
कार्यक्रममा उहाँलाई पुष्पगुच्छा, सम्मानपत्र तथा आत्मीय शुभकामनाका शब्दहरू अर्पण गरियो। साथीहरूका आत्मीय अँगालो, विद्यार्थीहरूको न्यानो विदाई र क्याम्पसको हृदयदेखि आएको शुभेच्छाले वातावरण भावनात्मक बनेको थियो।
“हामीले एक शिक्षक गुमाएका छौं, तर शिक्षा क्षेत्रमा एक उज्यालो तारा अन्तर्राष्ट्रिय आकाशमा चम्कन लागेका छन्,” कार्यक्रममा पुर्व विद्यार्थी सुबास मजाकोटीले भावविह्वल हुँदै भन्नुभयो।
शिक्षालय परिवारले उहाँको उज्ज्वल भविष्यको कामनासहित कार्यक्रम समापन गरेको थियो। ज्ञानको यो यात्रामा उहाँले सफलता र सम्मानका नयाँ उचाइ छोउन भन्ने सबैको हार्दिक कामना रहेको छ।