
पोखरा, २०८२ जेठ २० – आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय विशेष अनुदान अन्तर्गत गण्डकी प्रदेश सरकारले लमजुङको राइनासटार सिंचाइ आयोजना कार्यान्वयनका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। प्रस्तावित १० करोड रुपैयाँमध्ये प्रारम्भिक चरणमा प्राप्त भएको यो बजेटले राइनास क्षेत्रका कृषकहरूलाई प्रत्यक्ष राहत पुर्याउने विश्वास लिइएको छ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्रालयका मन्त्री डा. टकराज गुरुङले आयोजना सार्वजनिक गर्दै राइनासवासीलाई बधाई दिएका छन्। उहाँले उक्त सिंचाइ आयोजना प्रभावकारी रुपमा कार्यान्वयन भएमा कृषिमा उल्लेखनीय फड्को मार्न सकिने बताए।
“बजेट विनियोजन भएसँगै निरन्तर र व्यवस्थित रुपमा सिंचाइ आयोजना सञ्चालन गर्नमा सघाउ पुग्नेछ,” मन्त्री गुरुङले भने, “आम किसानका लागि कृषि कर्म र सिंचाइ सहज हुनेछ भन्ने विश्वास लिएको छु।”
उहाँले नागरिकका जनजीविकासँग सम्बन्धित सवालहरू र समग्र जिल्लाको विकास तथा समुन्नतिका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
राइनास क्षेत्रको कृषि उत्पादन वृद्धि र कृषकको जीवनस्तर उकास्न योगदान पुर्याउने अपेक्षा गरिएको यो आयोजनाले स्थानीयस्तरमै रोजगारी सिर्जना तथा आत्मनिर्भरता प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ l
