
सुमित्रा भुजेल
लमजुङ सदरमुकाम बेसीशहरमा समावेशी पैरवी समूहका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । ‘मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम परियोजना’ अन्तर्गत कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन लमजुङले तालिम सञ्चालन गरेको हो ।
मानसिक स्वास्थ्य पैरवी समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, उनीहरूलाई प्रभावकारी पैरवीका विधि सिकाउने तथा आत्महत्या रोकथामका उपायहरूबारे सचेत गराउने हेतुका साथ तालिम सञ्चालन गरिएको जनाईएको छ ।
तालिममा बेसीशहर नरपालिका, मर्स्याङदी गाउँपालिका, सुन्दरबजार, राइनास र मध्येनेपाल नगरपालिकाका पैरवी समूहका ३० जना सहभागि छन् । तालिममा सहभागिलाई लमजुङका कार्यक्रम संयोजक महेन्द्र आचार्य, काउन्सिलर गीता घले र मनोवैज्ञानिक विजय राईले प्रशिक्षण दिनुभएको छ । यसैगरी बेसीशहर नगरपालिका योजना शाखाका वरिष्ठ प्रशासन सहायक मोहन लम्सालले विकास योजना र स्थानीयतको योजना तर्जुमा प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।
तालिममा अपांगता तथा मनोसामाजिक अपांगताको विषयमा छलफल गर्ने, सि.आर.पि.डि तथा अपांगता भएका व्यक्तिको अधिकार सम्वन्धि ऐनमा रहेका सकरात्मक पक्षहरुको वारेमा जानकारी गराउने, समावेशी वकालत र यसका प्रक्रियाको वारेमा जानकारी दिइनेछ । यसले समावेशी पैरवि समुहका सदस्यहरुविच सहकार्यको वातावरण सृजना हुनुका साथै समूहका सदस्यहरूलाई आफ्नो क्षेत्रमा मानसिक स्वास्थ्य सम्बन्धी पैरवी गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
तालिम बेसीशहरको होटल द टुकेचे पिकमा सञ्चालन भएको छ । तालिम मंगलवार र बुधवार दुई दिन सञ्चालन हुने छ ।
