कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार छन् ।
सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उहाँ सपरिवार सम्पर्कविहीन भएका थिए । प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि उहाँ अझै पक्राउ पर्न सकेका छैनन्।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिएका छन्।
“अध्यक्ष देवकुमार नेपालीसहित सात जना सञ्चालक अझै फरार हुनुहुन्छ, रेड क्रनर नोटिस नै जारी गरेर उनको खोजी भइरहेको छ”, प्रहरी उपरीक्षक कँडेलले भने, “सहकारीका कार्यवहाक अध्यक्ष डोरबहादुर परियारसहित पाँच जना पुर्पक्षका लागि थुनामा हुनुहुन्छ, एक जना धरौटीमा रिहा हुनुभएको छ ।” उक्त सहकारी संस्थामा भएको बचकर्ताको रकम अपचलन सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी ठहर गरी कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ ।
इमेज बचतकर्ता सङ्घर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले अध्यक्ष नेपालीले आफ्नो व्यक्तिगत सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने जनाउँदै आए पनि विश्वासिलो वातावरण तयार नभएको बताएका छन्।