
गाउँमा जुवातास नियन्त्रणको अभियान संचालन गरिरहेको धार्चे गाउँपालिका ४ लाप्राकको हिमाली आमा समूहले चौतारा निर्माण गरेको छ ।
जुवातास खेल्नेहरुलाई कारवाही गरी संकलन भएको रकमले चौतारा निर्माण गरिएको समूहकी अध्यक्ष स्मृति गुरुङले बताएका छन् । उनका अनुसार लाप्राकको पुरानो गाउँ नजिकै रहेको बसपार्कमा चौतारा निर्माण गरिएको छ ।
‘दशै आउन लाग्यो, गाडीबाट ल्याएको सामान यहीबाट ओसार पसार हुन्छ,’ उनले भने, ‘तर यहाँ भारी बिसाउने, सामान मिलाउने ठाउँ थिएन, त्यसकै सजिलाका लागि चौतारा बनाएका हौ ।’
चौतारा निर्माणका लागि गत बर्ष देउसी भैलो संकलित रकम पनि प्रयोग गरिएको उहाँको भनाइ छ । गाउँमा जुवातास नियन्त्रणका लागि भन्दै समूहले गाउँमा गस्ती समेत गर्दै आएको छ ।
जुवातास खेलेको पाइएमा प्रति व्यक्ति तीन हजारका दरले जरिवाना रकम लिने गरेको समूह अध्यक्ष गुरुङले बताएका छन् । लाप्राकमा यही साउनदेखि आमा समूहहरु दैनिक रुपमा घरघरमै गस्ती गर्दै हिँडेका छन् । समूहका सदस्यहरुलाई टोलीमा विभाजन गरी एउटा टोलीको हप्तामा एकपटक पालो आउने गरी गस्ती लगाइएको समूहकी अध्यक्ष गुरुङ बताउछन् ।
‘साउन ३ गतेबाट सूचना जारी गरेर गस्ती लगाउन सुरु गरेका हौँ’, उनले भने, ‘समूहका सदस्यहरुको घरयासी कामलाई असर नपार्ने हिसावले सल्लाह अनुसार टोली बिभाजन गरेर काम गरिरहेका छौँ ।’
आमा समूहले जुवातास खेल्दै गरेको भेटेमा घरबेटीसहित जुवाडे र च्याखे थाप्नेहरुलाई जरिवाना र कारबाहीको व्यवस्था मिलाइएको उनले बताएका छन् ।
