
करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ ।
शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम पासिङ अन द गिफ्ट सम्पन्न गरेको हो ।
हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ । दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो । परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो । जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए । नश्ल सुधारका लागि ल्याइएका साँढे भने राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन् ।
यसरी किसानलाई बाँढिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी अहिले अरू किसानलाई हस्तान्तरण गरिएको हो । ‘मिल्की वे’ परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारमा पुगेर जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । ‘मिल्की वे’ परियोजनाका साझेदारहरूले कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ समेत स्थापना गरेका छन् ।
कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ कार्यक्रमले किसानको जनजीविका सुधारमा लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । “स्थानीय सरकारसमेतको सहकार्यमा सञ्चालित यस कार्यक्रमले किसानको आर्थिकस्तर सुधारका लागि मात्र नभइ कृषिउपज उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने र त्यस्ता वस्तु निर्यात गर्ने मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ”, उनले भने, “उपहार प्रदान गर्ने संस्कृतिले सामाजिक एकता तथा सहकार्यको भावनालाई मजबुद बनाउँछ र यसले व्यावासयिक कृषिमा लाग्नका लागि उत्प्ररित पनि गर्छ ।”
