
काठमाडौँ महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौँ महानगरको निर्णयमा नेकपा एमालेले आपत्ति जनाएको छ ।
एमाले काठमाडौँ जिल्ला कमिटीले पत्रकार सम्मेलन आयोजना गरी काठमाडौँ महानगरपालिका प्रमुखस्तरीय निर्णयानुसार महानगरपालिका क्षेत्रभित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनेर तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने र निर्माण रोक्का राख्नेसम्बन्धी सूचनाप्रति आपत्ति जनाएको हो ।
एमालेका काठमाडौँ जिल्ला इन्चार्ज तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल महानगरभित्र नदीको दायाँबायाँ २० मिटर छाडनुपर्ने निर्णयले ८० हजार घरधुरी प्रभावित भएको बताएका छन्। उनले उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन्।
एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले महानगरको निर्णयले ८० हजार घरधुरी प्रभावित हुने र महानगरको निर्णयले नागरिकको सम्पत्तिको हकसम्बन्धी अधिकार पनि कुण्ठित हुने भएकाले निर्णय फिर्ता लिन माग गरेका छन्।
त्यस्तै जिल्ला कमिटीका सचिव राजेश शाक्यले काठमाडौँ महानगरले बिना योजना सिधा निर्देशनबाट सूचना प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै उक्त निर्णय स्वीकार्य नभएको बताएका छन् ।
एमालेले महानगरको उक्त सूचना बदर गर्न आग्रह गर्दै सातबुँदे माग अघि बढाएको छ । मागमा काठमाडौँ महानगरपालिका प्रमुखबाट जारी सूचना तत्काल खारेज गर्नुपर्ने, सर्वोच्च अदालतबाट फैसलाउपर तत्काल न्यायिक पुनरावलोकन लागि आवश्यक कानुनी प्रक्रिया अवलम्बन गर्ने, सडक किनार, नदी खोला खोल्चा तथा राजकुलोसमेतका सार्वजनिक जग्गाको साँध सिमाना छेउमा बसोबास गर्ने व्यक्तिमाथि व्यक्ति विशेषको आवेगबाट प्रभावित गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने रहेको छ ।
