
पृथ्वीराज मार्गको दमौली–डुम्रे खण्डको अवरोध तत्काल नहट्ने भएको छ ।
अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका–१२ घाँसी कुवा बुधवार खसेको पहिरो हटाउन समय लाग्ने भएकोले वैकल्पिक दुई वटा मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायद्वारा बिहीबार जारी जारी विज्ञप्तिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा पहिरो गई सडक पूर्ण रूपमा अवरुद्ध भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो । साना तथा मझौला सवारी साधनको लागि दमौली–घाँसी कुवा मार्ग अन्तर्गत ताल घरे, दरै पँधेरा हुँदै घाँसी कुवा, घाँसी कुवा हुँदै दमौलीको लागि घाँसी कुवा, पोल्याङ, रानीगाउँहुँदै ताल घरे प्रयोग गर्न आग्रह गरिएको छ ।
हेभि सवारी साधनको लागि वैकल्पिक मार्गको रूपमा डुम्रे–वेशीशहर लमजुङ खण्ड सडक हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । बुधवार घाँसी कुवामा ठुलो पहिरो खसेको र खस्ने क्रम जारी रहेकोले अवरोध हटाउने काम सुरु गर्न नसकिएको तर बिहीबार बिहानबाट दुवैतिरबाट पहिरो पन्छाउने काम भइरहेको प्रनाउ रायले जानकारी दिएका छन्। पहिरोमा मानवीय क्षति भएको र नभएको बारेमा यकिन भई नसकेको कसैले पनि हराएको पनि खबर नगरेको रायले बताएका छन् ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घाँसीकुमा ठुलो पहिरो गएकोले हटाउन दुई दिन लाग्ने देखिएको जानकारी दिएका छन् ।
