
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको काठमाडौँ विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिएका हुन् । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो ।
“विश्वविद्यालयले तत्कालै नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच राखिनुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “त्यस अवधिभित्र विश्वविद्यलायले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ । यीलगायत नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्को सिनेट बैठक गरेर निर्णुय गरिनेछ । त्यही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुलाई पनि छलफलमा राखिनेछ ।”
सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा भोला थापालाई स्पष्ट पार्न समय दिएका थिए।
प्रधानमन्त्री ओलीले सिट क्षमता अनुसार विश्वविद्यलायमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिएका छन् ।
नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च डरलाग्दो गरी बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
