
कास्कीको अन्नपूर्ण गाउँपालिकाले सुत्केरीको स्वास्थ्य अवस्था बुझ्न घर घरमै स्वास्थ्यकर्मी खटाउन सुरु गरेको छ ।
त्यसक्रममा स्वास्थ्यकर्मीसँगै, जनप्रतिनिधि एवम् सम्बन्धित क्षेत्रका महिला स्वास्थ्य स्वयम्सेविका पुग्ने गरेका छन् ।
जसअन्तर्गत स्थानीय नागडाँडा स्वास्थ्य चौकी सेवा क्षेत्रका सुत्केरीसँग भेटघाट थालिएको छ । त्यस क्रममा आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्था जाँच गरिनुका साथै सरसफाईका सामग्री समेत हस्तान्तरण गर्ने गरिन्छ ।
सुत्केरी अवस्थामा आमा तथा बच्चाको हेरचाहमा ध्यान दिनुपर्ने कुराहरु, पोषण, दुधको मात्रा, सरसफाई, अभिभावकको जिम्मेवारी लगायतका विषयमा स्वयम् सुत्केरी एवम् उनीहरुको परिवारलाई सचेतना दिने उद्देश्यका साथ कार्यक्रम लागू गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले बताएका छन्।
पालिकाले यस कार्यक्रमलाई चालु वर्षभर निरन्तरता दिने भएको छ । जसमार्फत आमा तथा बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
अन्नपूर्णमा पाँच वटा बर्थिङ सेन्टर छन् । जसमार्फत अघिल्लो आर्थिक वर्षमा कुल १ सय ३९ जना महिला सुत्केरी भएका थिए ।
